गाेरखा- जनयुद्धको प्रभावक्षेत्र मानिने गोरखा डा. बाबुराम भट्टराई तत्कालिन एमाओवादीबाट अलग भएपछि ओरालो लाग्न थालेको माओवादी केन्द्रले दोस्रो स्थानीय तह निर्वाचनसँगै जिल्लामा गजबसँग ‘कमब्याक’ गरेको छ।
गोरखाका ११ पालिकामध्ये चुननुब्री गाउँपालिका बाहेक सबै पालिकाको मतगणना सुरु भइसकेको छ। यसमध्ये ८ पालिकाको मतगणना परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएका ८ मध्ये ७ पालिकामा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्।
मतगणना सुरु नभएको चुननुब्री गाउँपालिकाबाहेक सदरमुकाम रहेको गोरखा नगरपालिका, बाबुरामको गृहनगर पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ।
तर, गणना बाँकी रहेका तीन पालिका मध्ये २ गोरखा र पालुङटार नगरपालिकामा पनि माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अग्रस्थानमा छन्। सिरानचोक गाउँपालिकामा भने कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्।
बाबुरामले माओवादी परित्याग गर्नुअघि २०७० को निर्वाचनसम्म गोरखामा माओवादी विजयी बनेकाे थियो। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा २०७४ र २०७० को निर्वाचनमा माओवादी उम्मेदवार विजयी भएका थिए।
तर २०७२ असोजमा बाबुराले एमाओवादी परित्याग गरेपछिका निर्वाचनहरुमा माओवादी केन्द्रले पहिलेका नतिजा दोहोर्याउन सकेन। भट्टराईको बहिर्गमनपछिको २०७४ मा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र जिल्लाका ११ मध्ये २ पालिकामा सीमित हुन पुग्यो।
सदरमुकाम रहेको गोरखा नगरपालिका, आरुघाट गाउँपालिका आदिमा उसको स्थिति निकै नाजुक थियो।
बरु, बहुदलीय व्यवस्थाकालका गोरखामा कांग्रेसको जुन विरासत थियो, २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ‘कम ब्याक’ गर्यो। जिल्लाका ११ मध्ये ९ पालिकामा उसले विजयको झण्डा फहरायो। सदरमुकाम गोरखा र पालुङटार गरी जिल्लाका दुवै नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार विजयी भए।
२०७४ को स्थानीय तह निर्वाचनमात्र होइन, २०७४ को आम निर्वाचनमा पनि माओवादी केन्द्रको स्थिति सन्तोषजनक रहेन। वामगठबन्धनका कारण गोरखा निर्वाचन क्षेत्र न १ मा माओवादी केन्द्रका हरिराज अधिकारी संसदमा निर्वाचित त भए।
तर, क्षेत्र न २ मा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ भट्टराईसँग पराजित हुनुपर्यो। कांग्रेसको साथ पाएका भट्टराईलाई माथ गर्न माओवादी बरिष्ठ नेता श्रेष्ठलाई एमालेको साथसमेत कामयावी भएन।
तर, ३० बैशाखमा भएको स्थानीय तह निर्वाचन परिणामले भट्टराईको उपस्थितिविनै गोरखामा माओवादी पुरानै लयमा फर्केको संकेत दिएको छ । २०७४ मा विजय हासिल गरेका गाउँपालिका सुरक्षित राख्दै उसले जिल्लाका ९ मध्ये ७ गाउँपालिकामा उसको विजय र दुइवटै नगरपालिकामा अग्रता यसको संकेत हो।
२०७४ मा कांग्रेसले विजय हासिल गरेको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका दीपक देवकोटा अध्यक्ष र अनिता भुजेल उपाध्यक्ष निर्वाचन भइसकेका छन्। दुबै पदमा यहाँ कांग्रेस उम्मेदवार निकटतम प्रतिद्वन्द्वी छन्।
२०७४ मा कांग्रेसले विजय हासिल गरेको धार्चेमा पनि माओवादी केन्द्रका लक्ष्मण गुरुङ अध्यक्षमा र उपाध्यक्षमा सुनिला गुरुङ निकै ठूलो मतान्तरसहित विजयी भएका छन्। अध्यक्षमा विजयी गुरुङले ३ हजार ७ सय ७१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सन्तबहादुर गुरुङ्गले १ हजार ९ सय ४६ मत प्राप्त गरेका छन्।
पहिले आफूले विजय हासिल गरेको बारपाक–सुलिकोट गाउँपालिका पनि माओवादी केन्द्रले सुरक्षित गरेको छ। माओवादी केन्द्रका विष्णुप्रसाद भट्ट ५ हजार ७ सय १९ मत सहित अध्यक्षमा र सनमायाँ गुरुङ ५ हजार ७ सय ६५ मतसहित विजयी भएका छन्। अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतबहादुर घलेले ४ हजार ८ सय ६४ मत प्राप्त गरेका छन्।
भीमसेन थापा गाउँपालिका पनि माओवादी केन्द्रले कांग्रेसबाट खोस्न सफल भएको छ। माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा ५ हजार ६ सय ५१ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोशन गुरुङ्गले १ हजार ६ सय ७६ मत प्राप्त गरेका छन्।
यो गाउँपालिकाको उपप्रमुख पद भने नेपाली कांग्रेसले सुरक्षित राखेको छ। कांग्रेस उम्मेदवार अमृतादेवी वस्ती (भट्ट) ५ हजार १ सय ४७ मतसहित विजयी हुँदा पराजित माओवादी केन्द्रकी उम्मेदवार जुनुमायाँ श्रेष्ठले ४ हजार ९ सय २७ मतमात्र प्राप्त गरेकी छन्।
२०७४ मा विजय हासिल गरेको शहीद लखन गाउँपालिका पनि माओवादी केन्द्रले सुरक्षित गरेको छ। माओवादी केन्द्रका रमेशबाबु थापामगरले ५ हजार ४ सय ७४ मत प्राप्त गरी विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नारायणप्रसाद लामिछाने ४ हजार ४ सय ३२ मत प्राप्त गरेका छन्।
२०७४ मा कांग्रेसले विजय हासिल गरेको सिरानचोक गाउँपालिकामा यसपटक अग्रता लिएका छन् । याे पालिका नारायणकाजीकाे गृहपालिकासमेत हाे । कांग्रेसबाट अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र फुरुङ ठूलो मतान्तरका साथ अग्रस्थानमा छन्। गुरुङले ३ हजार ४६ मतका साथ अग्रता हासिल गर्दा माओवादी केन्द्रका नवराज पुडासैनीले १ हजार ६ सय २८ मतका साथ पछ्याइरहेका छन्।
उपाध्यक्षमा कांग्रेस उम्मेदवार रिता देवकोटा माओवादी केन्द्रकी पूर्णकुमारी ढकाल भन्दा १ हजार मतले अग्रस्थानमा छिन्।
आरुघाट गाउँपालिका भने कांग्रेसले सुरक्षित गरेको छ। ५ हजार ५ स्य ५६ मत प्राप्त गरी कांग्रेसका राजु गुरुङ अध्यक्ष र ५ हजार ६ सय २१ मत प्राप्त गरी कांग्रेसकै कल्पना नेपाली उपाध्यक्ष निर्वाचित भएकी छन्। यहाँ एमाले उम्मेदवार निकटतम प्रतिद्वन्द्वीका रुपमा छन्।
२०७४ मा पनि पराजित भएकाे गण्डकी गाउँपालिका यसपटक ठूलो मतान्तरका साथ माओवादी केन्द्रका अध्यक्ष दीपक तिमिल्सिना निर्वाचित भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका तिमिल्सिनाले ६ हजार ३ सय २६ मत प्राप्त गर्दा कांग्रेसका होमबहादुर रानामगरले यहाँ ४ हजार ६ सय ५५ मतसहित पराजित भएका छन्।
उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी निर्वाचित भएकी छिन् । उनले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार भिमनारायण श्रेष्ठलाई ७७७ मतान्तरसहित निर्वाचित भएकि हुन् । अधिकारीले ४ हजार ४२१ र श्रेष्ठले ४ हजार ४४ मत पाएका छन् ।
गणना गर्न बाँकी रहेका गोरखा नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार कृष्णबहादुर रानाले निवर्तमान मेयरसमेत रहेका कांग्रेस उम्मेदवार राजनराज पन्तलाई फराकिलो मतान्तरले पछि पारेका छन्। भट्टराई नेतृत्वको जसपासँगको तालमेलका कारण माओवादी केन्द्रले यहाँ फराकिलो मतान्तर बनाएको हो।
माओवादी केन्द्रका रानाले ६ हजार ७ सय ७० मतसहित अग्रता हासिल गरिरहँदा कांग्रेसका पन्तले ५ हजार २ सय २० र एमाले उम्मेदवार सम्झना देवकोटाले ४ हजार १ सय ८९ मत प्राप्त गरेकी छन्।
यो नगरपालिकामा उपमेयरमा भने कांग्रेस उम्मेदवार मसलीमायाँ थोकर पुनले अग्रता लिइरहेकी छन्। ५ हजार ४ सय ७८ मत प्राप्त गरेकी उनलाई जसपाका नारायण खत्रीले ४ हजार ८ सय ४९ र एमालेका देवीबहादुर बस्नेतले ४ हजार २ सय ७० मत सहित पछ्याइरहेका छन्।
मतगणना जारी रहेको भट्टराईको गृहनगर पालुङ्गटारमा भने माओवादी केन्द्र र कांग्रेस एक्लाएक्लै प्रतिस्पर्धामा छन्। जसपाले यहाँ एमालेसँग गठबन्धन गरेको छ। यो नगरपालिकामा २०७४ मा कांग्रेसका दीपकबाबु कँडेल मेयरमा र माओवादी केन्द्रकी पम्फा बसेल उपमेयरमा विजयी भएका थिए।
कांग्रेस र माओवादी केन्द्र दुबैले यहाँ पुरानै उम्मेदवार दोहोर्याएका छन्। जारी मतगणनामा माओवादी केन्द्रका विवश चिन्तनले अग्रता लिएका छन्। उनलाई जसपाका प्रेमबहादुर गुरुङले पछ्याइरहेका छन्। कांग्रेसका उम्मेदवार कँडेल यहाँ तेस्रो स्थानमा छन्।
माओवादी केन्द्रका चिन्तन ४ हजार ३ सय ०५ मत सहित पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा रहेका जसपाका गुरुङ्गले ३ हजार ७ सय ५० मत प्राप्त गरेका छन्। निवर्तमान मेयर समेत रहेका कांग्रेस उम्मेदवार चिन्तन यहाँ ३ हजार ३ सय ६५ मतसहित तेस्रो स्थानमा छन्।
पालुङटारमा अहिलेसम्म १, २, ३, ४, ८, ९ र १० को मतगणना सम्पन्न भएको छ। गणना गर्न बाँकी वडामध्ये २०७४ को स्थानीय तह निर्वाचनमा वडा नं ५ मा नयाँ शक्ति (हाल जसपा), ६ मा माओवादी केन्द्र र ७ नं मा एमाले विजयी भएका थिए।
पालुङ्टारमा अहिले जसपा र एमालेबीच गठबन्धन भएकाले अन्तिम परिणाम कसको पक्षमा जान्छ, भन्न सकिने स्थिति छैन। तर, जिल्लाका ११ मध्ये ७ पालिकामा विजय हासिल गरिसकेकाले अन्तिम निर्वाचन परिणाम आउनुअघि नै माओवादी केन्द्रले जिल्लाको पहिलो ठूलो दलको रुपमा ‘कम ब्याक’ गरिसकेको छ।
नेपालखबरकाे सहयाेगमा