गाेरखा- स्थानीय तह निर्वाचनको अन्तिम नतिजा आउने क्रममा छ । शनिबारबाट सुरू भएको मतगणनामा जिल्लाका ८ वडा स्थानीय तहको अन्तिम नतिजा आईसकेको छ । जिल्लामा सबैभन्दा धेरै वडा भएको गोरखा नगरपालिकाकोसमेत अन्तिम नतिजा आईसकेको छ ।
गोरखा नगरपालिका पछि जिल्लाको सबैभन्दा धेरै वडा भएको पालिका हो–पालुङटार नगरपालिका । नगरपालिकामा १० वडा रहेका छन् ।
शनिबारबाट सुरू भएको मत गणना वडा न १ र १० बाट सुरू भएको थियो । मतगणनाका क्रममा वडा न ६ को एउटा मतपेटीकाको सुरक्षण सिल चुडिएको भेटिएपछि मत गणना स्थगित भएको छ ।
त्यसमध्ये वडा न ६ पौवाटार मतदान केन्द्रको एउटा मतपेटीकाको एकातिरको भागको सिल चुँडिएको भेटिएको थियाे ।
मतपेटीकाको चारैतिर चारवटा सुरक्षण सिल लगाइएको हुने भएपनि एउटा सुरक्षण सिल चुडिएकाे भेटिएपछि मतगणना राेकिएकाे हाे।
पालुङटारमा नेकपा एमाले र जनता समाजवादी पार्टीवीच चुनावी तालमेल छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एक्ला एक्लै निर्वाचनमा होमिएका छन् ।
वडा न ६ बाहेकका अन्य वडाकाे नतिजा सार्वजनिक भएकाे छ । नतिजा अनुसार माओवादी केन्द्रका विवस चिन्तनले ५ हजार ५७१ मतका साथ अग्रता लिएका छन् । उनलाई जसपाका प्रेम बहादुर गुरुङले ५ हजार १३२ मतका साथ पछ्याईरहेका छन् । अब करिब १ हजार २ सय मत गणना हुन बाँकि छ ।
निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको निर्देशन : मतगणना नरोक्नु
निर्वाचन अधिकृतको कार्यालय, पालुङटारका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय, गोरखा मार्फत निर्वाचन आयाेगसंग निर्देशन मागिएको दावी छ ।
आयोगले निर्वाचन अधिकृतको कार्यालय पालुङटारलाई पठाएको पत्रमा भनिएको छ, ‘मतगणना गर्न राजनीतिक दल तथा उम्मेद्वार वा तिनका प्रतिनिधि सहमत नभएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १ शय ६७ बमोजिम गर्न गराउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने ।’
आयोगको निर्देशन अनुसार अघि बढ्ने विषयमा दलहरु सहमत रहेकाले अब मतगणना अघि बढाउने तयारी भैरहेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।