काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले संसद्मा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनलाई निर्वाचनको हारपछि रन्थनिएका बेलाको कुण्ठा अभिव्यक्त भएको टिप्पणी गरेका छन्।
सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता थापाले ओलीले बिहीबार संसद्मा गरेको तीन घण्टा लामो सम्बोधनलाई रन्थनिएका बेलाको कुण्ठाका रुपमा टिप्पणी गरेका हुन्।
उनले निर्वाचनमा एमालेले पराजय बेहोरेको र त्यसपछि रन्थनिएका ओलीले संसद्मा कुण्ठा व्यक्त गरेको बताए। छलफलमा भाग लिएको सुरुमै नेता थापाले ओलीको सम्बोधनमाथि टिप्पणी गरेका थिए।
उनले नीति तथा कार्यक्रममाथिको छलफलमा सुरुमै घण्टौं लामो गन्थन प्रस्तुत भएको पनि बताएका छन्। त्यसको जवाफ दिनुपर्ने भन्दै उनले प्रश्न नभई विचार प्रस्तुत भएकाले त्यसको टिप्पणी हुने उल्लेख गरे।
संसद्मा बोल्दै नेता थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा शरूमै घन्टौं लामो गन्थन प्रस्तुत भएपछि साथीहरूले भन्नुभएको यसमा उठेका सबै प्रश्नको जवाफ दिनुपर्छ। तर, मैले साथीहरूलाई भनेँ प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ। सहमति असहमति व्यक्त हुन सक्छ।’
उनले कुण्ठाको जवाफ नहुने भएकाले सहानुभूति मात्र प्रकट गर्न सकिने भन्दै कुण्ठामाथि बिचरा मात्र भन्न सकिने बताए।
उनले अघि भने, ‘रन्थनिएको बेलामा उठेर, बसेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ। पलेँटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ । कहाँ बोल्ने कहिले बोल्ने भन्ने बोल्नेले हेक्का राख्ने कुरा हो । हामीले केबल विचरा भन्न सक्छौँ। यति मात्रै हो ।’