विश्व इतिहासमा मानव जातिभित्र रहेका क्रान्तिको माध्यमबाट तत्कालीन व्यवस्था परिवर्तन गर्न सक्ने विशिष्ट क्षमता भएका अपवाद मध्यका एक प्रखर व्यक्तित्व हुन्-प्रचण्ड ।
मानव समाजको सोच, व्यवस्था परिवर्तन सामान्य मानिसको क्षमता भन्दा धेरै परको कुरा हो, त्यसका निम्ति कठिन तपस्या र जीवनमा आइपर्ने भयानक तुफानसँग सामना गरी दुख र कष्ट को महासागर पार गरी परिवर्तित चन्द्र भूमिमा पथ विश्राम गर्न सक्नुपर्दछ।
बुद्ध, कार्ल मार्क्स, अव्राहम लिङ्कन, नेल्सन मन्डेला, महात्मा गान्धी, चे ग्वेभेरा, लेनिन, फिडेल क्यास्ट्रो, माओ देखि प्रचण्डसम्म मानव जातिका अमूल्य अपवाद हुन्। जसले मानव र समाजको तत्कालीन सोचाई, चरित्र, संस्कृति र व्यवस्थालाई भङ्ग गरी विश्वलाई परिवर्तित आयाम दिए ।
प्रचण्डको कुरा गर्दै गर्दा उनले लिएको बाटो बुद्धको बाटो हो, बुद्ध ज्ञान, चेतना आदर्शका प्रणेता हुन् र प्रचण्ड सर्वहारा वर्गको जनवाद क्रान्तिका नायक।
क्रान्ति सामान्य चिज हैन, क्रान्तिलाई बुझ्न परिवर्तनको नियम बुझ्नुपर्छ । परिवर्तनको नियम बुझ्नलाई समाजको संरचना, संस्कृति, नियम र मार्गदर्शनलाई बुझ्न जरुरी छ। उक्त समाजको बहु आयामिक पक्षलाई नयाँ मार्गमा परिवर्तन गर्नु, सामाजिक उद्देश्य र नियमलाई बदल्नु नै क्रान्ति हो।
प्राय: क्रान्ति शान्तिपर्व सम्भव छैन, बहुसङ्ख्यक मानिसको मानसिक धारणा र स्थितिलाई परिवर्तन गर्न साना तपस्याबाट सम्भव छैन, त्यसका निम्ति हतियार, रापतापयुक्त उम्लिँदो रगत, आत्मविश्वास सशक्त निडर आत्मा र बहादुरी युक्त बलिदानी आवश्यक छ। सिधा तरिकाले हेर्दा क्रान्ति बुझ्न असम्भव छ, त्यसैले सिधा तवरले हेर्दा प्रचण्डलाई हत्यारो मात्र देखिन्छ ।
प्रचण्ड क्रान्ति र परिवर्तनका आयाम हुन्। पञ्चायत विरोधी आन्दोलन, जनयुद्धको सुरुवात देखि हालसम्म घट्ने राज्यमा घट्ने विशिष्ट राजनीतिक परिघटनाहरूमा भनौँ या हरेक राजनीतिक क्षणमा प्रचण्ड एक महत्त्वपूर्ण हिस्सा हुन्।
उनी विना न राजनीतिक गति सम्भव छ न त राजनीतिक मार्ग निर्माण नै सम्भव छ। जब देशमा राजनीतिक सङ्कट पर्छ, जब जनतामा नैराश्य प्रकट हुन्छ, तब यो देशको माटोले, यो देशको भावले प्रचण्डलाई खोज्छ। प्रचण्ड मार्गदर्शक हुन्, सम्पूर्णका गुरु हुन्।
हिंसा क्रान्तिको प्रथम अवस्था हो र शान्ति अन्तिम। हिंसा र रक्तपात विना नेपाली जनक्रान्ति सम्भव थिएन । त्यस कारण प्रचण्डले हिंसात्मक मार्ग रोजे र उत्कृष्ट राज्यव्यवस्थासहित हिंसात्मक राज्यलाई शान्ति सम्झौता गरी दीर्घकालीन शान्तिको मार्गमा परिणत गरिदिए।
त्यस कारण प्रचण्ड क्रान्ति र शान्तिका नायक हुन्। त्यो बाटोमा प्रचण्ड एक्ला थिएनन्, उनको साथमा तत्कालीन सामन्त र सर्वसत्तावादी राज्यद्वारा घृणित बहुसङ्ख्यक समुदाय थिए, जो आफ्नो अस्तित्व रक्षा र मुक्तिका निम्ति ज्यान आहुति गर्न तत्पर थिए । त्यस कारण उत्पीडित समुदायको दृष्टिबाट हेर्दा प्रचण्ड भगवान् नै हुन्। महको भाँडो जो जसले चाटेर उत्पादन को जस लिन तँ छाड मछाड गरे पनि सम्पूर्ण उत्पादनको स्वामित्व प्रचण्डमा नै छ।
प्रचण्ड एउटा उत्कृष्ट राजनीतिक चरित्र हो, किनकि राज्यव्यवस्थाको गतिशीलताका निम्ति एउटा नेताले बिस पनि पिउँछ, चरम हिंसात्मकसँग पैँठेजोरी पनि खेल्छ । विरोधी तत्त्वलाई तानेर होस् या पछारेर आफ्नै मार्गमा भित्राउँछ।
उ हार्छ जनताका निम्ति अरूलाई जिताउँछ, उ सकिन्छ तर जनताका निम्ति अरूलाई सर्व सम्पन्न बनाउँछ। उसलाई जित र हारले तात्पर्य राख्दैन, उ हारले न विचलित हुन्छ न त जितले हर्षित हुन्छ, उ सधैँ टार्गेटमा हुन्छ । उ सधैँ केन्द्रबिन्दुमा हुन्छ।
उसको जीवन जनता र क्रान्तिका निम्ति समर्पित छ, त्यस कारण प्रचण्ड राजनेता हुन्, उनी चट्टान हुन्, न वर्षाले उनिलाई खियाउँछ न उनलाई आगोले डढाउँछ, न त उनलाई ठन्डीले सताउँछ उनलाई । उनी प्रेरणा हुन्, सपना हुन्, उनी एक सच्चा राष्ट्रसेवक हुन्।
लेखक- अखिल (कान्तिकारी), गोरखाका सह-सचिव हुन् ।