काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिला स्वास्थ्यका विषयमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताएकी छन्।
एक्पोज नेपालले अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा आयोजना गरेको जनचेतनामूलक साइकल यात्राको समापन गर्दै उनले महिला स्वास्थ्यका विषयमा सबै तहका सरकारले ध्यान दिनुपर्ने बताए।
‘महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ’ भुसालले भनिन्। महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको भन्दै विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उनले बताइन्।
उनले महिनावारी महिलाको गर्वको विषय उल्लेख गरिन्। उनले भनिन् ‘यो गर्वको कुरो हो, पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।’
भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छता आवश्यक पर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुन: प्रयोग गर्न मिल्ने प्याडको प्रयोग गर्नुपर्ने बताइन्। उनले महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएको अबका दिनमा चेतनास्तरको बढाउँदै जानुपर्ने बताइन्।
कार्यक्रममा बोल्दै एक्सपोज नेपालका अध्यक्ष प्याड म्यान ज्ञान महर्जनले नेपाली महिला महिनावारीका समयमा विभेदको शिकार हुने भएकाले महिनावारी विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताए।
बिहान बसन्तपुरबाट सुरु भएको साइकल र्याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजार पाटन दरबार स्क्वायर क्षेत्र पुगेर सकिएको थियो। र्यालीमा तीन सयभन्दा बढी व्यावसायिक साइकलयात्रीको सहभागिता थियो।
पुन: प्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र वातावरणका महत्वपूर्ण रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध र महिनावारी स्वच्छताका क्षेत्रमा काम गरिरहेको छ। संस्थाले विभिन्न जिल्लाका ४०९ सय महिलालाई पुन: प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम दिइसकेको छ।