काठमाडौँ- आज पनि देशका अधिकांश भूभागमा मौसम बदली भएको छ। केही ठाउँमा बिहानैदेखि वर्षासमेत भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपासमा विकसित न्यून चापीय रेखाको प्रभाव छ। त्यसैगरी पश्चिमी वायुको प्रभावले पनि नेपालको मौसम बदली भएको छ।
जसको प्रभावस्वरुप हाल देशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ। आज बिहानैदेखि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ। राति यी क्षेत्रमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
अहिले नेपालमा प्रिमनसुनका गतिविधि चलिरहेका छन्। मौसमविद्हरुका अनुसार मनसुनपूर्वका गतिविधिलाई प्रिमनसुन भनिन्छ।
सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने गर्छ। यस वर्ष नेपालमा मनसुन चाँडै सुरु हुने र मनसुन अवधिमा धेरै पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन्।