काठमाडौं– नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले एमसीसी परियोजना खारेज भएको हो कि के हो भनेर अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्।
नेपालको संसद्बाट एमसीसी पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणासहित भएको भन्दै उनले त्यो अमेरिकाले नमाने तत्काल खारेज गर्ने भनिएको स्मरण गराए।
उनले अहिलेसम्म अमेरिकाबाट त्यस्तो कुनै प्रतिक्रिया नआएको भन्दै प्रश्न गरे।
‘लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएको छ,’ उनले भने, ‘त्यो भनेको के हो? यसअघि भनेको जस्तै एमसीसी योजना अनुसार हो कि सरकारले आफै बनाउन खोजेको हो?’
उनले गठबन्धन सरकारको तर्फबाट प्रस्तुत गरेको बजेट सकारात्मक र स्वागतयोग्य भएको पनि बताए। कार्यान्वयनको प्रक्रियामा सबैले साथ सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।