काठमाडौं– सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी गठबन्धनभित्र धेरै असन्तुष्ट भएको बताएका छन्।
शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गरे।
उनले आफूहरूको असन्तुष्टि सत्तारुढ दलहरुको बैठकमा राखिएको र आन्तरिक रुपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रिया दिए।
फरक प्रसंगमा नेता खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यक्ता औंल्याउँदै त्यो सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताए।
उनले भने, ‘वामपन्थीहरुबीच एकता हुनुचाँहि वस्तुगत आवश्यक्ता हो। तर, यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरू एकताको पक्षमा देखिनु भएको छैन। यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यक्ता भए पनि त्यो सम्भावना चाँही निकै कमजोर छ।’