काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएका कार्यक्रमबारे प्रश्न उठाएका छन्।
विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी हुँदै पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले प्रश्न उठाएका हुन्।
उनले सञ्चारमन्त्रालयले घुम्ती शिविर राख्ने गरी आगामी आर्थिक वर्षको कार्यक्रममा समेटिएपछि बास्कोटाले कटाक्ष गरेका छन्।
‘सञ्चार मन्त्रालयको घुम्ती शिविर राख्ने रे! बरु दारु शिविर राख्नु नि’, उनले भने, ‘शिविर त बरु स्वास्थ्य मन्त्रालयले राखे हुन्छ। यस्ता हावादारी कार्यक्रम कसका लागि?’
उनले नेपालको जमिनमा मात्रै नभएर आकाशमा पनि सार्वभौम सत्ता रहने पनि स्मरण गराए।
‘हाम्रो देशको सार्वभौम सत्ता मात्रै हुँदैन। हाम्रो आकाश लाओसले खोसिरहँदा केपी ओली नेतृत्वको सरकारले फिर्ता ल्याएको थियो’, उनले भने, ‘तर कानुनका बारेमा सञ्चार मन्त्रालय बेखबर छ।’
उनले मन्त्रालयले टेन्डरविद नियुक्ति गर्ने कुरालाई लिएर कटाक्ष गरे। ‘बरु ठेकेदारविद पनि नियुक्त गर्नु राणा छन् कि शाह छन् कि कार्की छन् कि खोजे भयो नि!’, उनले भने।
बाँस्कोटाले छाप्नुपर्ने कुरा विदेशमा छापिसकेपछि अब सेक्युरिटी प्रिन्टिङ प्रेसको आवश्यता नहुने पनि बताएका छन्।
‘यो सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसलाई एक अर्ब छुट्याएको छ। सबै कुरा सिद्धिएपछि सेतो हात्ती बनाउन त्यो चाहिँदैन’, उनले भने, ‘इम्बोस्ड नम्बरदेखि सबै कुरा छापिसकेपछि त्यो किन चाहियो? सरकारका प्रत्येक बुँदा झुटको पुलिन्दा हुन्।’