काठमाडौं– बालेन साहको विजयपछि काठमाडौंमा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने युवाहरुको संख्या बढिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का केही युवा नेताहरुले मानुषी यमी भट्टराईलाई चुनाव लड्ने तयारी गर्न सुझाव दिएका छन् ।
जसपाका केही युवा नेताहरुले बुधबार मानुषीलाई भेटेर आउने चुनावमा संघीय सांसद बन्ने गरि काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट उम्मेदवारको तयारी गर्न आग्रह गरेका हुन् । क्षेत्र न ५ नेकपा एमालेका बरिष्ट्र नेता ईश्वर पाेखरेल र ७ एमालेका नै रामविर मानन्धर निर्वाचित भएकाे क्षेत्र हाे ।
डा.बाबुराम भट्टराई र हिसिला यमीको एकमात्र उत्तराधिकारी मानुषी आफैँ पनि राजनीति तथा सामाजिक काममा सक्रिय छन् । मानुषीले भने पार्टीका युवा नेताहरुको आग्रहलाई सकारात्मक रुपमा लिएको भन्दै थप छलफल गर्ने बताएकी छन् ।
काठमाडौं ७ मा हिसिला यमी पहिलो संविधानसभा निर्वाचनमा विजयी भएकी थिइन् भने दोस्रोमा पराजित भएकी थिइन् । उनले आफूलाई चुनाव लड्न पार्टीले प्रस्ताव गरेको र आफू पनि तयार रहेको स्वीकार गरेकी छन्।
‘पार्टीभित्रबाट युवाहरू अगाडि आउनुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘जनताको समस्या समाधानका लागि दूरगामी र तत्कालीन आर्थिक योजनासहित आउनेछु। अहिले केही कानुननी कुरामा पनि कमजोरी छन्। तिनमा पनि बहस गर्नेछु।’
आफूले कानुन निर्माणदेखि अन्य काममा भूमिका निभाउने उनको भनाइ छ। ‘संघीय शासनसँग जोडिएका कुरा आउँछन्। मुलत नयाँ राजनीतिक संस्कार आवश्यक रह्यो। त्यसैले युवाहरूको आवश्यकता छ,’ उनले भनिन्, ‘आधारभुत आवश्यकताका विषयमा उठ्ने आवाज र कानुन तथा नीतिबारे अब युवाहरूले सोच्नुपर्छ।’
उनले आफू २ दशकदेखि राजनीतिमा सक्रिय रहेको भन्दै संगठित राजनीतिमा आएको प्रष्ट पारिन्। ‘आफ्नै बलवुताले यहाँसम्म आएको र विद्यार्थी आन्दोलनमा सत्रिmय भएको व्यक्ति हुँ । अहिले पनि म वागमती प्रदेशमा रहेको छु,’ उनले भनिन्, ‘सबैको पारिवारिक पृष्ठिभूमि हुन्छन्। मेरो पनि छ। तर यसमै जोड्न जरुरी छैन।’