काठमाडौँ- चीनले अमेरिकामाथि अपहरणको शैलीमा एशिया-प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लगाएको छ।
चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वासिङ्टनले आफ्नो स्वार्थलाई अघि बढाउन र उनीहरूलाई चीनविरुद्ध भड्काउन खोजेको आरोप लगाएका हुन्।
साङ्ग्रिला डायलगको एकदिन अघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नुका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजनक भनेर खण्डन गरेका छन्।
रक्षामन्त्री अस्टिनले इण्डो–प्यासिफिक क्षेत्रका राष्ट्रहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिएका थिए। जसलाई उनका चिनियाँ समकक्षीले चीनलाई एक्ल्याउने प्रयत्न भनेका थिए।
बहुपक्षीयताका आडमा अमेरिकाले धम्की दिएको उनको आशय थियो। इण्डो–प्यासिफिक रणनीति द्वन्द्व र टकराव बढाउने रणनीति भएको उनले टिप्पणी गरे।