काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णमा आफूहरुको कुनै विरोध नभएको बताएका छन्। प्रधानमन्त्री र पार्टी सभापतिको रुपमा देउवाको भूमिका सन्तोषजनक नै रहेको कोइरालाको भनाइ छ।
सोमबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको बताए। पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको कोइरालाको भनाइ छ।
पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको कोइरालाको भनाइ छ।
‘हरेक निर्णय गर्दा हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजीले सबैसँग सल्लाह गर्नु हुन्छ। सर्बदलीय बैठकमा मुख्यमुख्य मान्छेहरु गएर निर्णय गरिन्छ। तर, धेरैजसो निर्णयहरु ठिकै भएको छ। यसमा हाम्रो कुनै विरोध छैन,’ कोइरालाले भने, ‘पदाधिकारीहरु सबैले आ–आफ्नो भूमिका पाइरहेका छन्।’
नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण आयोग आफू मातहत राख्ने/नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले ती दुवै निकाय आफ्नो मातहतमा ल्याएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको थियो नि? भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै कोइरालाले उक्त अधिकार प्रधानमन्त्रीको भएकाले त्यसमा विरोध गरिरहन आवश्यक नभएको बताए।