काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बाम गठबन्धनका विषयमा छलफल भएको छ ।
ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ ।
दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो ।
‘राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ श्रेष्ठ निकट एक नेताले भने, ‘एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’
नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे । तर भेटमा भएको कुराकानीबारे बताउन भने चाहेनन् । उनी माओवादी अध्यक्ष प्रचण्डको अनुमति लिएर ओली भेट्न गएको स्रोतले जनाएको छ।
एमाले र माओवादीबीच सम्बन्धसुधारको प्रयासअन्तर्गत श्रेष्ठले ओलीलाई भेटेको बताइएको छ।
कांग्रेससहितको गठबन्धन भत्काउन प्रयास गरिरहेको एमालेले पछिल्लो दिन आफ्ना नेताहरुलाई माओवादीको दोस्रो तहका नेताहरुसँग छलफल गर्न पठाएको छ।
शनिबार एमाले सचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग दुईघण्टा छलफल गरेका थिए। यस भेटलाई ज्ञवालीले औपचारिक हाइ हेल्लो भनेर प्रतिक्रिया दिए भने अनन्तले भने भेट भएको कुरा अस्वीकार गरे।
स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उचित सहयोग नपाएरै केही तह गुमाउनु परेको माओवादीको गुनासो छ। उता पाँच दलीय गठबन्धनकै कारण एमालेले २०७४ मा भन्दा ८९ स्थानीय तह गुमाएको छ।