काठमाडौं– नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपालको कम्युनिस्ट आन्दोलन कता जाँदैछ भनेर बुझ्न शीर्ष तीन कम्युनिस्ट नेताहरुले एकअर्काविरुद्ध गरिरहेको गाली सुन्दा थाहा हुने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘आज युवाहरुले विद्रोहका साथ, सम्पूर्ण सचेतनाको साथ नसोच्ने हो भने हाम्रो आन्दोलन खतरामा छ। हाम्रो आन्दोलन कता लैजाँदैछन् भनेर हेर्ने हो भने तिनका (ओली, प्रचण्ड र नेपालका) गालीगलोज सुन्दा पर्याप्त हुन्छ।’
कार्यकर्ताको योग्यता जाँच प्रणाली नै खराब रहेकाले यो झन् विकृत हुँदै गएको उनले बताएका छन्। उनले भने, ‘कमरेड ओलीले माधव नेपालको नाम लिएर कुल्ला मात्रै गर्नुभयो भने एमालेको खास खाँटी कार्यकर्ताले त बान्ता नगरी योग्यता पुष्टि हुँदैन। कमरेडले कुल्ला गर्नुहुन्छ साथीहरु वान्ता गर्छन्।’
त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेको पत्तासाफ गरिदिनुपर्छ’ भन्दा माओवादीका कार्यकर्ताहरु लाठी र डन्डा लिर खडा हुने बताए। उनले थपे, ‘किनभने त्यो योग्यता हो। त्यो नेकपा माओवादी केन्द्र हुनुको योग्यता के हो भने प्रचण्डले पत्तासाफ गरिदिन्छु भन्दा बाटोमा लाठी लिएर निक्लिहाल्नुपर्छ।’
यसैगरी माधव नेपालले एमालेलाई धूलो चटाउँछु भन्दा एकीकृत समाजवादीका कार्यकर्ताले पुत्ला जलाउनुपर्ने संस्कार रहेको भूसालले उल्लेख गरे। ‘माधव कमरेडले धुलो चटाइदिन्छु भनेपछि समाजवादीका साथीहरुले केपी ओलीको पुत्ला जलाउनुपर्यो। हाम्रो योग्यता कति ओलीको पुत्ला जलाउँछौं त्यति त्यहाँ जोडिने भयो, त्यो अवस्था बनेको छ,’ भूसालले भने।
मूल प्रवाहका राजनीतिक नेताहरु त समाजका गुरु रहेको भूसालको भनाइ छ। आमजनले राजनीतिक नेताहरुसँग सिक्ने बताउँदै अहिले गलत शिक्षा सिकाइरहेको उनको भनाइ छ।
‘नेताहरु शिक्षक हुन्। समाजका महत्वपूर्ण शिक्षक हुन्। तिनले जे बोल्छन्, समाजले त्यही सिक्छ। ठूला मान्छे जता गए बाटो त्यही हो भनेर हाम्रो परम्पराले पनि भन्छ। आज ती मान्छेहरु, माथि बसेका मान्छेहरुको भाषा, बोली, दिनचर्या दूरदृष्टि हेर्दादखेरि निन्दाको, भर्त्सनाको, गालीको, बेइज्जतीको खुट्टा तानातानको र चरित्र हत्याको तरिका सिकाइरहेका छौं,’ भूसालले भने।