गोरखा– स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दा समेत हालसम्म गोरखाका ९२ प्रतिशत उमेद्वारहरुले खर्च विवरण बुुझाएका छैनन् ।
निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्याद अनुसार आगामी असार ६ गते कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उमेद्वार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ ।
तर, तोकिएको समय सकिन लाग्दा समेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् । कार्यालयमा खर्च विवरण बुझाउनेहरुको तथ्याङ्क हेर्दा उमेद्वारहरु आयोगलाई अटेरी गरेको, खर्च विवरण बुझाउन आनाकानी गरेको जस्तो देख्न सकिन्छ ।
निर्वाचनको नतिजा सार्वजानिक भएको ३० दिन भित्र आयोगलाई विवरण बुझाउनु पर्ने हुन्छ । सोही अनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरुलाई आग्रह गरेको थियो ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका २ हजार २२ जनाले उम्मेदवारी दिएका थिए । यसैगरी ३३ जना कार्यपालिका सदस्य पनि थपिदाँ २ हजार ५५ जनाले विवरण बुझाउनु पर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
जसअनुसार अब १ हजार २३ जनाले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको देखिन्छ । अहिलेसम्म मात्र ८.३६ प्रतिशतले विवरण बुझाएका छन् ।
‘विवरण आउने क्रम जारी छ । तर अब धेरै दिन छैन,’ कार्यालयका सूचना अधिकारी रबिलाल सुबेदीले भने,‘आशा गरौं सबैले समयमै विवरण बुझाउनु हुनेछ ।’
हालसम्म धार्चे गाउँपालिकाका १२, अजिरकोट गाउँपालिकाका १९, गोरखा नगरपालिकाका २९, बारपाक सुलिकोट गाउँपालिकाका १६ र गण्डकी गाउँपालिकाका १२ जनाले विवरण बुझाएका छन् ।
यसैगरी शहिद लखन गाउँपालिकाका १२, आरुघाट गाउँपालिकाका ५२, सिरानचोक गाउँपालिकाका ३, चुमनुब्री गाउँपालिकाका २, पालुङटार नगरपालिकाका ११ र भीमसेन थापा गाउँपालिकाका १ जना गरी कुल १६९ जनाले विवरण बुझाएका छन् ।
३ जना कार्यपालिका सदस्यहरुले पनि निर्वाचन खर्च विवरण बुझाएको सूचना अधिकारी सुबेदीले जानकारी दिए । निर्वाचन सकिएको १ महिना पुग्न लाग्न समेत अहिलेसम्म अधिकाशं उम्मेद्वारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय चुनावमा नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले भने ५० हजारसम्म खर्च गर्न पाउनेछन् । वडाध्यक्षका उम्मेदवारले भने नगरपालिकामा दुई लाख, गाउँपालिकामा एक लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था आयोगले गरेको थियो ।
विगतको अभ्यासलाई हेर्ने हो भने निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले खर्च विवरण बुझाएको पाइदैन । आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कारवाही गर्न सक्ने प्रावधान छ । यदी कसैले बुझाए पनि वास्तविक खर्च भन्दा पनि निकै न्यून विवरण बुझाएका हुन्छन् ।
निर्वाचनको परिणाम सार्वजानिक भए अनुसार असार ६ गते भित्र सबैले विवरण बुझाउने पर्ने कार्यालयले स्पष्ट पारेको छ ।
जसअनुसार अजिरकोट गाउँपालिका भित्रका उम्मेदवारले जेठ ३१, आरुघाट, भीमसेन थापा र शहीद लखन गाउँपालिका उम्मेदवारले असार १, गण्डकी र धार्चे गाउँपालिकाका उम्मेदवारले असार २, गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिकाका उम्मेदवारले असार ३ गते भित्र निर्वाचन खर्च बुझाउनुपर्ने निर्वाचनले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका उम्मेदवारले असार ४ गते र चुमनुब्री गाउँपालिकाका उम्मेदवारले ६ गते भित्र खर्च बुझाइसक्नु पर्ने सुबेदीले बताए ।