काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले नेपालले हालसम्म अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुने भनेर निर्णय नगरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटबारे उठेका जिज्ञासाको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाणले एसपीपीमा सहभागी हुने कुनै सोच नभएको समेत बताए।
प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताए । २०७२ को भूकम्पको बेलामा पनि नेपालको सहमति ३४ वटा मुलुको सेना आएर उद्धारमा काम गरेको भन्दै उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन । भोलि पनि हुँदैन, हुँदैन ।’
नेपाल शान्ति सेनाको दोस्रो स्थानमा रहेकाले त्यसरी खटिने क्रममा सिप आदानप्रदान गर्नु स्वाभाविक भएको उनले बताए । तर सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने भन्दै उनले भने, ‘तर नेपाली सेनाले वा नेपाल सरकारले अर्को सेनासँँग सैन्य सन्धि गरेर सेना आउने, नेपालको भूभागमा अर्को देशको सेना आउने, टुँडिखेलमा आएर परेड खेल्ने हुन सक्दैन । यसमा सहमति छैन ।’
नेपालको असंलग्न परराष्ट्रनीतिमा सरकार अडिक रहेको खाणले उल्लेख गरे।