काठमाडाैं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दीर्घकालीन रुपमा देशलाई समृद्धि बनाउने र व्यापार घाटा घटाउने माध्यम जलविद्युत क्षेत्र हुने बताएकी छन् ।
नेपालको प्रचुर सम्भावन भएको क्षेत्र जलविद्युतको उत्पादन र निर्यात बढ्न थालेपछि मन्त्री भुसालले यसको खपत वृद्धिबाट अन्य वस्तुको उत्पादनमा योगदानका साथै निर्यातबाट ततकालका लागि व्यापार घाटा कम गर्न सहयोग पुग्ने बताएकी हुन् ।
‘बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्छन्, बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ’, ललितपुरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री भुसालले भनिन् ।
उनले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन्।
नेपालले पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ।
नेपाल विद्युत प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ। प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन्।
आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताइन्।