काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन र एकताको विकल्प नभएको बताएका छन्।
प्रज्ञा भवन कमलादीमा आइतवारदेखि सुरु केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रदेश समितिबाट रिपोर्टिङ भइसकेपछि बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले वाम ध्रुवीकरण र एकताका लागि आउने क्रम अहिले पनि चलिरहेको बताएका छन्।
तत्कालीन नेकपा अहिले तीनवटा ध्रुवमा पुगेको बताउँदै उनले त्यसबाट निस्किएर आफूहरु आठौं राष्ट्रिय महाधिवेशनदेखि यहाँसम्म आइपुगेको पनि बताए।
‘सदस्य नवीकरण हुँदै राष्ट्रिय महाधिवेशनसम्म पुग्यौं’, प्रदेश समिति अध्यक्षहरूका प्रश्नको जवाफका क्रममा उनले भने, ‘केन्द्रीय समितिले निचोड राख्दै गर्दा विधानको व्यवस्थाअनुसार अघि बढ्न भनिएको छ।’
उनले अहिले पनि एकता र ध्रुवीकरणको प्रक्रियामा आउनेहरुको लागि पार्टीले अभियान चलाइरहेको पनि बताए।
‘नेपालमा माओवादी आन्दोलन र माओवादी पार्टी एकता प्रक्रियामा जानैपर्ने छ’, उनले भने, ‘अझ संस्थागत रुपमा माओवादी अगाडि बढ्ने क्रम बढेको छ। हिजोको माओवादी एकीकृत हुने सम्भावना बढेको छ। हामीले ठूलै कोसिस गर्यौँ। माओवादीमा देखा परेका विचलन हल गर्ने मात्र नभइ माओवादी धारा एक हुने क्रम अहिले पनि छ।’
प्रचण्डले आइतवार मात्रै तत्कालीन नेकपा हुँदाका सचिवालय सदस्यहरुसँग कुरा भएको खुलासा गरे।
‘आज मात्रै नेकपा हुँदाका सचिवालय सदस्यहरुसँग छलफल भएको थियो’, उनले भने, ‘नेकपा एकीकृत गर्न वामपन्थी आन्दोलनका लागि सम्भावना अझै छ। तर हामी गठबन्धनमा छौँ।’
उनले एमालेसँग पनि फेरि एकता र सहकार्यको सम्भावना नसकिएको पनि बताएका छन्।
‘एमालेभित्र पनि अहिले जस्तो बहस प्रभावित गर्न खोजिएको छ’, उनले भने, ‘वाम ध्रुवीकरणका क्रममा मिलेर जान नसकिने होइन। तर एमालेका पनि दुई चार जनामा समस्या भएकाले मात्रै कुरो अघि नबढेको हो।’