काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको बैठकमा नेपाली कांग्रेससँगको गठबन्धन र सहकार्यबारे पुनर्विचार गर्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलमा भाग लिने केन्द्रीय सदस्यहरूले गठबन्धनबाट कांग्रेसले लाभ लिएर ठूलो पार्टी बन्न सफल भए पनि माओवादीलाई त्यसबाट तत्कालीन र दीर्घकालीन लाभ नहुने बताएका छन् ।
बैठकमा उठेका विषयहरूबारे जानकारी दिँदै नेता गिरिराजमणि पोखरेलले प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन नगर्ने सुझाव आएको र कांग्रेससँगको सहकार्यबारे पुनर्विचार गर्नुपर्ने बताए ।
बैठकमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कांग्रेससँगको गठबन्धन कहिलेसम्म लैजाने भन्ने प्रश्न गर्दै कांग्रेससँग मिलेर समाजवाद स्थापना गर्ने नेतृत्वको चाहना हो ? भन्ने प्रश्न गरेका थिए ।
अर्का केन्द्रीय सदस्य परशुराम तामाङले गठबन्धनबाट कांग्रेसले धेरे प्रगति गरेको र माओवादीले गर्न नसकेको भन्दै परिस्थितिले अब माओवादीलाई राजनीतिक वैचारिक रूपमा अघि बढ्ने ठाउँ दिएको बताएका थिए ।
तामाङको भनाइ थियो– कांग्रेससंगको सहकार्य कति लामो हो ? हाम्रो एउटा रणनीति छ। तर कांग्रेससंग सहकार्य गर्छौ भने हाम्रो नीति कसरी कार्यान्वयन हुन्छ ? यो गम्भीर छलफलको विषय हो । गठबन्धनबाट कांग्रेसले प्रगति गर्यो, पहिलो पार्टी बन्यो । तर, हामीलाई के फाइदा भयो ? सोचौँ !
केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ प्रचण्डले मंगलवारको बैठकमा दिनेछन् ।