काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।
लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’
बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा राजीनामा नदिएको भन्दै शर्माले अघि भने, मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।’
आफूले सचिव र बजेट निर्माणसँग सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुख डिजीहरुलाई नीतिगत निर्देशन दिएर राति साढे ११ बजे मन्त्री क्वार्टर गएर सुतेको बताए ।
उनले अघि भने, ‘मेरो निर्देशनपछि उहाँहरुले रातभर काम गर्नु भएको छ । म साढे ११ बजे सिंहदरबारबाट पुल्चोक क्वार्टरमा गएर सुतेको छु, विहान ६ बजे मन्त्रालयमा पुगेको छु । सचिव सोफामा पल्टिरहेको, डिजीहरुले टुंग्याउने अवस्थामा पुगेको मैले देखेको छु ।’
राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न चुनौती दिए ।