काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आफू के कारणले अनैतिक भएको भन्दै प्रश्न सोधेका छन्। संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा समय लिएर बोल्दै अर्थमन्त्री शर्माले यस्तो प्रश्न गरेका हुन्।
‘मैले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ?’ शर्माले भने, ‘न मैले संकट परेका जनताको कोरोनाको बेलामा बदमासी गरेँ।’
शर्माले राजनीतिक पूर्वाग्रहको पराकाष्टको रुपमा आफू विरुद्धको आन्दोलनलाई अर्थ्याएका छन्।
‘न मैले करको दर हेरफेर गर्नुपूर्व कुनै व्यापारीलाई सामान भित्र्याउने अनुमति दिएँ, न मैले कुनै बच्चाको दुध बढाएर चकलेटको रेट घटाएँ। के कारणले म अनैतिक भएँ?’ शर्माको प्रश्न छ।
सुपारी, मरिच र केराउको तस्करी बन्द गर्नु अनैतिकता हो?
शर्माले नेपालमा सुपारी, केराउ र मरिचको तस्करी बन्द भएको दाबी गरेका छन्।
‘लाखौं डलर खर्च गरेर तस्करी मौलाउनेगरी खोलिएका सुपारीहरु अब तस्करी हुन बन्द भएका छन्,’ शर्माले भने, ‘अब नेपालमा तस्करी हुनै सक्दैन्।’
उनले केराउ र मरिचको पनि तस्करी बन्द हुनेगरी करको दायरा बढाएको स्पष्टिकरण दिए। ‘केराउ र मरिचको तस्करी बन्द हुनेगरी करहरुको दायरा बढाएको छु,’ उनले भने, ‘के नेपालमा तस्करी बन्द हुनु अनैतिकता हो? तस्करी घटाउनु अनैतिकता हो?’
विगतमा भएका घटनालाई ध्यान दिँदै तस्करी बन्द गर्ने काम आफूले गरेको उनले बताए। ‘विगतमा कसरी सुपारीको तस्करी भएका थिए, मैले बन्द गरेको छु। ती कुराहरु कसरी गलत हुन सक्छन्?’ अर्थमन्त्री शर्माले भने।
कुनै व्यापारीलाई लाभ दिएकाे छैन
शर्माले बजेटमा भएको नीतिकै आधारमा करका दर हेरफेर गरेको र त्यसले कुनै व्यापारीलाई लाभ नदिएको दाबी गरेका छन्। आफूमाथि लागेका आरोपहरुबारे संसदबाट स्पष्टिकरण दिँदै उनले आयात प्रतिस्थापन बजेट ल्याउँदा केही आत्तिएको बताए।
‘बजेटका नीतिले करका दर हेरफेर गर्दा कहाँ सूचना चुहियो? मन्त्री शर्माले भने, ‘कुन व्यापारीले फाइदा लियो? मन्त्री शर्माले छानबिन गरोस्, पत्ता लगाओस् ।’ त्यो कुन विशेष घरानलाई इङ्गित गरियो? बजेट, अनैतिक, राष्ट्रिय घात हो? त्यसो भए म जिम्मा लिन तयार छु।’
अर्थमन्त्री शर्माले भने, ‘मैले चिन्ने सचिवहरुलाई हो, डिजीहरुलाई हो। मैले चिन्ने व्यक्तिहरु उहाँहरु हो, उहाँहरुलाई मैले स्पष्ट निर्देशन दिएको छु। मेरो निर्देशनपछि उहाँहरुले रातभर काम गर्नुभएको छ।’
उक्त दिन राति साढे ११ बजे नै आफू क्वाटरमा गएर सुतेको शर्माले बताए।
‘म राति साढे ११ बजे सिंहदरबारबाट पुल्चोक पुगेर सुतेको थिएँ, बिहान ६ बजे मन्त्रालयमा म पुगिरहेको छु। म मन्त्रालयमा पुग्दा सचिवहरु पल्टिरहनुभएको थियो’ उनले संसद बैठकमा भने।