काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको भन्दै अब यसले ‘हैजा’ फैलाउने बताएका छन् । सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार मृत भैसकेको बताएका हुन् ।
‘गठबन्धनलाई बोकेर हिँड्नु उपयुक्त छैन । यो निष्प्राण र हानिकारक छ । डेथ भइसक्यो यसले हैजा फैलाउँछ, मृत भइसकेपछि सतीदेवीलाई शिवले काँधमा बोक्दा त बाँचिनन् भने यो गठबन्धन रु भ्रष्टाचारीको अङ्गहरू झरेर पीठ बन्ने वाला छैनन्’, ओलीको टिप्पणी छ ।
उनले गठबन्धनमा रहेका दलहरूका अनेकका अनेक स्वार्थ रहेको भन्दै कुनै उद्देश्य गन्तव्य नरहेको बताए । ‘अनेकका अनेक स्वार्थ छन्, उद्देश्य र गन्तव्य छैन । राष्ट्रिय राजनीति पोलोराइजेसनतिर गएको छ । सुखी नेपाली र समृद्ध नेपालीको नेतृत्व एमालेले गरिरहेको छ ।
सुशासन, विकास हुनुपर्छ भन्ने एजेण्डामा एमाले अघि बढेको छ र अर्को पोल गठबन्धन टिकाउने र लुटपाट र हाटहुट गर्नुपर्छ भन्ने शक्ति छ’, ओलीले राजनीतिमा भएको पोलराइजेसन ठिक भएको बताए ।
उनले आगामी निर्वाचन भएरै छोड्ने भन्दै ओलीले एमाले चुनावमा जाँदा नक्कली र कृत्रिम एजेण्डा लिएर नगई देश र जनताका कुरा लिएर जाने बताए ।
मुद्दा फिर्ता लेऊ र माफी माग
एमाले अध्यक्ष ओलीले संवैधानिक परिषदसम्बन्धी विधेयकलाई लिएर पनि सरकारको आलोचना गरेका छन् । संवैधानिक परिषदसम्बन्धी यस्तो विधेयक ल्याउनुअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुका साथै हिजो जानिएनछ भनेर जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्ने उनले बताएका छन् ।
ओली सरकारले ल्याएको अध्यादेश र त्यसविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यही बेला सरकारले अध्योदशकै भावको विधेयक राष्ट्रियसभामा दर्ता गराएपछि ओलीले भने, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदलतमा मुद्दा हलेको छ, यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ । यो भन्दा निर्लज्ज, दुईमुखे दुईजिब्रे अरु के हुन्छ ?’
सरकार सरले चलाउनुहुन्छ कि म्याडमले ?
सम्पादकहरुको प्रश्नको जवाफमा उनले अघि भनेका छन्, ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यतापट्टी जान चाहन्न मेरो विषय बनाउन चाहन्न । दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनुहुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावर मै हुँ भन्नेले चलाउनुहुन्छ ? त्यतापट्टी पनि जान चाहन्न । तर जसले चलाए पनि चलाएको त यही हो ।’
मुलुकको अर्थतन्त्रलाई यसरी नै अधोगतिमा जान दिने हो भने कम्तीमा श्रीलंकाको स्थितिमा पुग्ने उनले बताए ।