गोरखा– पालुङटार नगरपालिकाका मेयर बिबश चिन्तनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई पालुङटार नगरपालिकाको समग्र बिकासमा केन्द्रको तर्फबाट पहल गरिदिन ध्यानकर्षण गराएका छन् ।
उपमेयर बन्दना पाण्डेसंगै प्रचण्डलाई भेट्न खुमलटार पुगेका मेयर चिन्तनले बर्षेनी बाढी र पहिरोबाट क्षति पुग्ने गरेको पालुङटारको दिर्घकालिन समस्या समाधानका लागि केन्द्रको तर्फबाट आबश्यक आग्रह गरेका हुन् ।
‘पालुङटारले बर्षेनी बिपतको सामना गरिरहनु परेको छ, नगरप्रमुख चिन्तनका स्वकिय सचिव असोक मरहठ्टाले भने, ‘बाढीको नियन्त्रणका लागि त्यस क्षेत्रमा तटबन्धन निर्माणका गर्न केन्द्रको तर्फबाट अलि बढी बजेट छुट्याउनका लागि पहल गरिदिने बिषयमा छलफल भयो ।’
पालुङटारको खार खोला, चित्रे खोला, खहरे खोलामा आउने बाढीले हरेक बर्ष क्षति पु¥याउने गरेको छ ।
गएको आर्थिक बर्षदेखि नै त्यस क्षेत्रमा बाढी नियन्त्रणका लागि काम सुरु भइसकेको भएपनि पर्याप्त बजेटको अभावमा समस्या हुदैँ आएको छ । आगामी आर्थिक बर्षका लागि ति क्षेत्रमा बाँध नियन्त्रणका लागि ३ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ ।
त्यस्तै पालुङटारलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने चर्चा भएपनि काम सुरु हुनु नसकेको भन्दै प्रचण्डको ध्यानकर्षण गराइएको उनले बताए ।
जिल्लाकै एक मात्र पालुङटार एयरपोर्टको मर्मत स्तरोन्नती तथा सञ्चालनका प्रक्रियालाई पनि संघिय सरकारले जोड दिनु पर्नेमा प्रचण्डको ध्यानकर्षण गरिएको छ । भेटमा प्रचण्डले नगरपालिकाको बिकासका लागि आबश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकाे मरहठ्टाले जानकारी दिए ।