गोरखा- आरुघाट गाउँपालिका-१, मान्बुकाे श्याम्चेतमा पहिरो बगेपछि १२ वटा घर पुरिएको र ४० घर जोखिममा परेको छ । बस्तीलाई बिच भागमा पारेर बगेको पहिरोले पुरै गाउँ जोखिममा परेको हाे ।
‘एउटा घर बग्यो, १२ वटा पुरिएको छ, त्यो घरबाट मान्छेहरु उद्धार गरियो, अरु ४० घरमा पनि मानिस बस्न डराईरहेका छन्’ उनले भने ‘पहिरो तारन्तार आईरहेको छ कहाँ जाने भन्नेमा अन्यौल छ, मानिसहरु डराईरहेका छन् ।’ घर छाडेर सुरक्षित स्थान तर्फ स्थानीय गएको उनले बताए । स्याम्चेत गाउँमा एक सय १३ घर रहेको छ ।
आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले सुरक्षाकर्मीको सहायताले उद्धारको प्रयास भईरहेको र आफु पनि त्यसतर्फ जाँदै गरेको बताए । बिस्थापितलाई त्रिपाल र खाद्यान्नको जोहो गर्ने तयारी भएको उनले बताए ।
विस्थापितको उद्धारमा कमी हुन नदिन गृहमन्त्री खाणको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले श्याम्चेतमा वर्षाका कारण पहिरो जाँदा विस्थापित भएकाहरुको तत्काल उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
मन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमि हुन नदिन निर्देशन दिएका हुन्।
पहिरोले स्थानीय वीरबहादुर गुरुङको घर पुरेको र गाउँको दुवैतिरबाट पहिरो आएकाले गाँउनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए। पहिरोबाट विस्थापितलाई उद्धार गर्न प्रहरी र सशस्त्रको टोली घटनास्थलमा पुगिसकेको आचार्यले बताए।