गाेरखा- भीमसेन थापा गाउँपालिकाकाकाे गाउँसभा पालिका उपाध्यक्षसहित २० जनाले बहिस्कार गरेका छन् । गाउँपालिकाकी उपाध्यक्ष अमृता वस्तीसहित २० जना सदस्यले गाउँसभा बहिस्कार गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै उपाध्यक्षसहित अन्य सदस्यले याेजना निर्माणमा अध्यक्ष लाेकप्रसाद बञ्जारा हावी भएकाे भन्दै गाउँसभा बहिस्कार गरेकाे बताएका छन् ।
उनीहरूले बजेट निर्माणको क्रममा योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने ब्यबस्था अनुसार उक्त समितिले योजना बनाउने क्रममा गाउँपालिका अध्यक्षले योजना निर्माणमा हस्तक्षेप गरी उपाध्यक्षलाई भूमिकाबिहीन बनाएको आरोप लगाएका छन् ।
अध्यक्षले बुधबार भएको कार्यपालिका बैठकमा एकलौटी रुपमा बहुमतको आडमा योजना पेश गरेको, न्यायिक समिति गठनमा पनि उपाध्यक्षको परामर्शबिना सदस्यहरू प्रस्ताव गरेको, विधायन समिति, सुसासन समिति र लेखा समितिमा एकलौटी गर्ने, अघिल्लो सरकारले करारमा नियुक्त गरेका कर्मचारी हटाउनेलगायतका उदेश्यले कार्यपालिका बैठकमा एजेण्डा प्रस्तुत गरेको असन्तुष्ट गाउँसभा सदस्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कार्यपालिका बैठकमा एजेण्डा प्रस्तुत गरी छलफल हुँदै गर्दा उपाध्यक्ष लगायतले विभिन्न बुँदामा असहमति जनाएपनि सर्वसम्मतिको प्रयास नगरी एकलौटी गाउँसभा संचालन गरेपछि बिहीबारको गाउँसभा बहिष्कार गरेको उनिहरुले बताएका छन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ बमोजिम कार्यपालिका बैठकको निणर्य सर्वसम्मति हुनुपर्ने भए पनि प्रयास नगरी आफूखुसी गाउँसभा संचालन गरेको असन्तुष्टहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गाडी नपाए पछि…..
स्थानीय तहकाे वजेट जनमुखी नभएर जनप्रतिनिधिकाे सेवा सुविधामा वढी विनियाेजन भएकाे भन्दै चर्काे आलोचना भइरहेका वेला उपाध्यक्ष वस्तीले आफूलाई गाडी खरिदका लागि उचित बजेट नदिएकाे भन्दै गाउँसभा बहिष्कार गरेकी हुन् । उपाध्यक्षमा निर्वाचित भएपछि उनले आंफुले पनि नयाँ गाडी चढ्न पाउनुपर्ने माग राख्दै आएकी थिइन्।
देशका धेरै स्थानीय तहहरुमा जनप्रतिनिधिले चढ्ने गाडि विक्री गरेर एम्बुलेन्स खरिद गरेका समाचार आइरहेका बेला गाउँपालिकामा भने केही जनप्रतिनिधिहरुले आफ्नै सुविधाका लागि अनेक वाहानामा विलासिताको साधन माग गरेका छन् । विराेध गर्ने पार्टीकाे नीति अनुसार सभा बहिष्कार गरिएकाे उपाध्यक्ष वस्तिले दावी गरिन् ।
गाउँपालिकाले उपाध्यक्ष वस्तिका लागि मासिक १ लाख ५० हजारमा बाेलाेरे जिप भाडामा लिएर सञ्चालन गरिरहेकाे छ । गाउँसभाले तत्काल गाडी खरिद गर्ने भनेर करिब २५ लाखसमेत छुट्टाएकाे छ । २५ लाखले गाडी किन्न नपुग्ने भन्दै उपाध्यक्ष वस्तिले विराेध गरेकाे र गाडीकै वाहानामा गाउँसभा बहिस्कार गरेकाे स्राेतकाे दावी छ ।
उपाध्क्षको स्पष्टीकरण : निर्वाचनको समयमा बोलेका कुरामा अडिक छु
गाउँपालिका उपाध्यक्ष वस्तीले एक विज्ञप्ति जारी गर्दै समाचारकाे खण्डन गरेकी छिन् । गाेरखा सन्देशकाे इमेलमा प्राप्त स्पष्टीकरणमा उपाध्यक्षकाे हस्ताक्षर छैन ।
आफुले गत स्थानीय निर्वाचनका समयमा राज्यले दिने तलव भत्ता समेत नलिने लिखित घोषणा गरेकाे भन्दै उनले पठाएको विज्ञप्तिमा भनिएको छ– ‘निर्वाचन ताका नै मैले नियमित पाउने सेवा सुविधा नलिने र प्राप्त गर्ने सुविधा गाउँपालिकाको विपन्न वर्गको उत्थानमा प्रयोग गर्ने लिखित प्रतिबद्दता ब्यक्त गरेको छु । मेरा लागि कुनैपनि भौतिक सुविधा गौण बिषय हो, मुख्य कुरा त भीमसेनथापा गाउँपालिकाको समग्र विकास र यहाँको स्थानीयको जीवनस्तर उकास्नु नै हो। यो सामाजिक भावनाले प्रेरति विचारबाट म कहिल्यै पनि विचलित हुने छैन ।’