काठमाडौं– सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २१ गतेको निर्णय अनुसार नमूना संगठन संरचना र दरबन्दी स्वीकृत भएको हो।
मन्त्रालयले स्वीकृत भएको नमूना संगठन संरचना र दरबन्दी सबै स्थानीय तहलाई पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा असार २७ गते पठाएको थियो।
सोही पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सोमबार नमूना संगठन संरचना र दरबन्दी पठाएको छ।
नमूना संरचना र दरबन्दी अनुसार ५ शैय्याको अस्पतालमा ८औं तहका मेडिकल अधिकृतको नेतृत्वमा १८ जना जनशक्ति रहनेछन्। १० शैय्यामा २ जना मेडिकल अधिकृतसहित २२ जना र १५ शैय्यामा ९ वा १०औं तहको नेतृत्वमा ३० जना जनशक्ति रहनेछन्।