काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीकै कारण नेकपा विघटन हुन पुगेको बताएका छन्।
गत वैशाख ३० गते आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा नेपालले यस्तो बताएका हुन्।
‘हामीले विद्रोह गरेर आएका हौँ। नयाँ पार्टी बनाएर कमिटी बनिनसकेको अवस्थामा हामी निर्वाचनमा गयौँ’, उनले भने, ‘ओलीका कारण कमरेड भन्नेहरु जति पाखा लागेर गए। पार्टीमा समस्या आए। पार्टीका बैठक बस्नै सकेनन्। बहुमत पुग्दैन कि भनेर बस्न छाडे। पार्टी चल्नै नसक्ने अवस्थामा पुगिसकेपछि पार्टीभित्र बस्न नसक्ने अवस्था भएपछि विद्रोह गर्यौँ।’
नेकपा विभाजनको प्रमुख कारण संसद विघटन पनि भएको उनले बताए।
‘सिंगै संसद नै भंग गरिसकेपछि चुनावको सेटिङ मिलाएर जाने खोजियो’, उनले भने, ‘नेकपा फुटाउने काममा केपी ओलीले भूमिका खेले। एमाले एक होला भन्ने आश गरेका थियौँ तर फागुन २८ गते ओलीका एस म्यान राखेर कमिटी विस्तार गरियो।’
उनले एमाले ब्युँतिएपछि पनि आफूहरुलाई कारबाही गरेर निकाल्ने प्रयत्न थालिएको बताए।
‘हामीले त्यतिबेलै एमाले कम्युनिष्ट पार्टी रहेन, राजा महाराजाको जस्तै भयो भन्ने ठान्यौँ। अनि समानान्तर गतिविधि थाल्यौँ’, उनले भने, ‘ओली पद छाड्नै नसक्ने, प्रधानमन्त्रीको कुर्सी ताकेको भन्दै कुर्सी नै भाँच्न खोजे। त्यहीकारण नेकपा सकियो, एमाले पनि फुट्न पुग्यो। हामी विद्रोह गरेर यहाँसम्म आइपुगेका छौँ।’