काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारमा आएपछि हराएको र लुकाइएको पैसा बजारमा आउने दावी गरेका छन् ।
बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा एमालेले मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर गरेको टिप्पणीप्रति पत्रकारले सोधेको प्रश्नमा एमाले सरकारमा आउनेबित्तिकै नीतिगत सुधार हुने र हराएको पैसा बजारमा आउने बताएका हुन् ।
‘हामी सरकारमा आएपछि हराएको पैसा खोज्न सकिन्छ कि सकिँदैन भन्दाखेरी नीतिगत सुधार गर्नेबित्तिकै बजारमा पैसा आइहाल्छ नि ’, महासचिव पोखरेलको भनाइ छ । उनले कालो धन सेतो हुदैन भन्ने कुरा गर्दिए पुग्ने पनि बताए ।
‘सधैंभरी मान्छेले पैसा लुकाएर राख्छ र ? सरकार चेन्ज हुनेबित्तिकै लुकाएको पैसा बाहिर निस्किहाल्छ’, उनले भने, ‘जुन प्रक्रियामा लान खोजेका छन्, त्यो प्रक्रियामा लान त सम्भव छैन, वैधानिक प्रक्रियामा प्रवेश गर्नैपर्छ ।’ उनले गलत नीति अन्तर्गतको गलत सरकार भएको भन्दै त्यो नीति भएको सरकारबाट मुक्त भएसँगै त्यस प्रकारका प्रवृत्तिमाथि छानविन थालिहाल्ने बताए ।
‘छानविन थाल्नेबित्तिकै डम्पिङ गरेर राखेको पैसा सीज हुन सुरु गर्छ र यो प्रवृत्ति दुरुत्साहित हुन्छ । यो आर्थिक संकट प्रायोजित संकट हो । गलत नीतिको परिणाम हो । नेकपा एमाले आउने वित्तिकै मुलुकलाई आर्थिक रुपमा फेरि हामी सही बाटोमा उभ्याउन सक्छौ भन्ने विश्वास छ’, पोखरको भनाइ छ ।
गठबन्धनसँग एमालेले चुनाव हारेको सत्य भएपनि काँग्रेस जनमतमा एमाले भन्दा पछाडि रहेको स्वीकार गर्नुपर्ने बताए । स्थानीय चुनावको मत संख्या पेश गर्दै उनले आगामी निर्वाचनमा पनि एमाले आफ्नै शक्तिमा चुनाव लड्ने एमालेको नीति रहेको तर एमालेको नीतिसँग सहमत हुनेहरुले सहकार्य गर्नसक्ने बताए ।
‘नेकपा एमाले असफल भयो भन्ने कुरा आग्रहले होइन इण्डिकेटरले देखाउनुपर्छ । सूचकले बेठीक भन्छ हामी गलत रहेछौ । सबै सूचक सकारात्मक छ भने हामी सही हुन्छौ, सूचकले सकारात्मक देखाइरहेको छ अनि कसरी एमाले असफल हुन्छ ?’पोखरेलको प्रश्न छ । उनले पछिल्लो समय नेकपाका बहुमत सचिवालय सदस्य एकजुट हुनु कुनै अनौठो कुरा नभएको भन्दै त्यसले एमालेको जनमतलाई खासै फरक नपर्ने बताए ।