काठमाडौं– नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भइ बिद्रोहबाट ‘नेकपा एस’ नामको पार्टी बनाएको बताएका छन्।
नेकपाका संस्थापक नेता श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘हामीले इतिहासका पाना निर्माण गरेका छौं। कसैले असम्भव तुल्याएका कुराहरुलाई सम्भव तुल्याएका छौं। त्यस कारण अब पनि हामी लड्न सक्छौं।’
अध्यक्ष नेपालले खास गरेर पुष्पलालको शिक्षाबाट दीक्षित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी विद्रोहबाट बनाएको दाबी गर्दै त्यो पार्टीले आफ्नै छुट्टै अस्तित्व देखाएको बताए।
पुष्पलालले जनताका पिर–मर्कालाई अलग ढंगबाट सम्बोधन गर्ने गरेको बताउँदै अध्यक्ष नेपालले ती सबै वर्ग, तप्काका पीडामा रहेका उत्पीडत समुदायलाई समेट्दै सचेत बनाउँदै जागरुक बनाउन जोड दिने गरेको स्मरण गरे।