काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसमा पनि अहंकार बढेको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यममा सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टको बुइ चढेर कांग्रेसले बुर्कुसी मार्ने चिन्ता बढेको उल्लेख गरे।
तत्कालीन नेकपा एमालेलाई सम्झिँदै केपी ओलीको अहंकारका कारण दुई तिहाईको कम्युनिष्ट पार्टी र सरकार पतन भएको स्मरण गराउँदै कांग्रेसलाई पनि अहंकार त्याग्न अनुरोध गरेका छन्।
अध्यक्ष नेपालले २०७४ को सालको निर्वाचनपछि २०७५ जेठ ३ गते नेपालमा दुई तिहाईको कम्युनिष्ट पार्टी भएको स्मरण गरे। ‘मौका आउँछ पर्खिदैन, समयले कहिले पनि पर्खेर बस्दैन। त्यस्तो मौकालाई ओलीले प्रयोग गर्न नसकेनन्’, उनले भने।
उनले एक दुईवटा प्रधानमन्त्री नभई चार–चारवटा वामपन्थी प्रधानमन्त्री भएको पार्टीमा कयौं उप्रधानमन्त्री, मन्त्रीहरु भएको स्मरण गर्दै अनुभवको आधारमा देश हाँकेको पार्टीकाबीचमा छलफल चलाएको भए के हुन्थ्यो? भन्दै ओलीलाई प्रश्न गरे।
केही व्यक्तिहरुमा अंहकार बढ्दै जाँदा निरंकुश प्रवृत्ति मौलाएको नेपालको भनाइ छ। अरुलाई देखि नसहने, प्रतिद्वन्द्वी सम्झिने र भाग खोसिहाल्छ कि भन्दै अरुमाथि शंका गर्ने बानीले नै नेकपा विभाजनमा पुगेको नेपालले बताए।
ओलीले दुई तिहाईको फूर्ति देखाउँदै आफ्नै पार्टीका नेता कार्यकर्तालाई नटेर्ने गरेकै कारण सत्ताबाट सडकमा पुग्नुपरेको उनको भनाइ थियो। ओलीकै कारण कांग्रेससँग गठबन्धनमा जानुपर्ने बाध्यता आइपरेको अध्यक्ष नेपालले बताए।
तर, अहिले कांग्रेसमा पनि ओलीको जस्तै अहंकार बढ्दै गएकाले सडकमा पुग्ने अवस्था नल्याउन कांग्रेसलाई अनुरोध गरेका छन्।