काठमाडौं- अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको कारण चीन-अमेरिका तनावको बीच नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको भनाइ सार्वजनिक भएको छ ।
यान्छीले बुधबार बिहान ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्छ भन्ने विषयमा आफू विश्वस्त रहेको बताएकी छन् ।
नेपाल र चीन एक अर्काको विश्वासनीय असल छिमेकी राष्ट्रको रूपमा रहेको र दुवै देशले एक-अर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतालाई बुझ्दै आएको स्मरण गर्दै उनले चीनको एक चीन सिद्धान्त जायज तथा वैध मागहरूलाई पनि बुझ्दै जारी ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास लिएको बताएकी छन् ।
‘नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहने छन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन् भन्ने हामीले विश्वास लिएका छौं’, राजदूत यान्छीले भनेकी छन् ।
न्यान्सीको ताइवान भ्रमणले चीनको एक चीन निती र राजनैतीक जगलाई गम्भीर उल्लंघन गरेको, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पनि ठूलो आँच पुर्याएको उनको टिप्पणी छ ।
अमेरिकालाई ताइवान चीनको अभिन्न अंग हो भन्ने थाहा हुँदाहुँदै गरिएको उक्त भ्रमणले १९७१ को संयुक्त राष्ट्र महासभाको प्रस्ताव र आधारभूत वैदेशिक सम्बन्धको उल्लंघन गरेकोसमेत यान्छीले लेखेकी छन् ।
ताइवानप्रतिको चिनियाँ धारणा यथावत् रहेको र देशको सार्वभौमिकता प्रतिरक्षाको निमित्त चीनले जस्तोसुकै कदम चाल्न सक्ने भन्दै उनले भ्रमणका कारण चीनले उठाउन सक्ने कदमको जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनीसमेत दिएकी छन् ।