काठमाडौं– मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ ।
बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हाे ।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।
बैठकमा सहभागी एक नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’
नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ ।
‘चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ,’ गठबन्धनका एक नेता भन्छन्, ‘संसद चलाइराख्न धेरै रुचि छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुन्छ होला ।’
ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावका मिति घोषणा गर्ने छ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको छ।