गोरखा- पालुङटार नगरपालिका प्रमुख विवश चिन्तन यतिवेला सडकमै भेटिन्छन् । केही कामदार, सडक निर्माण तथा मर्मतमा प्रयोग गरिने डोजरका साथ उनी आफै नगरपालिकाको वडा नम्वर ८ ,९ र १० को सडक मर्मत र निर्माण गर्न व्यस्त छन् ।
जनताको काममा व्यस्त पालिका प्रमुख चिन्तन असार १७ गते आएको वाढीले क्षतिग्रस्त वडा नम्वर ८ को सेरा र वडा नम्वर ९ र १० जोड्ने पुल भत्किएपछि अवरुद्ध वाटो सुचारु गर्न अहिले उनी सडकमा उत्रिएका हुन् ।
शुक्रवार र शनिवार सेराको सिस्नेरी हुँदै शेरा सडकमा अस्थायी कल्वर्ट निर्माण सम्पन्न गरिएको उनले वताए ।
त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी आवातजावात गर्न समस्या हुदै आएकोमा कल्वर्ट वनेसंगै विद्यार्थी आवातजावातमा सहज भएको स्थानीयहरुले वताएका छन् ।
सेरा सिस्नेरीसंगै आजवाट भने विर्दीमा काम शुरु गरिएको उनले बताए । सकेसम्म एक दुई दिनमै कल्वर्ट वा अन्य माध्यमवाट भएपनि अस्थायी रुपमा सडक संचालनमा ल्याउने गरी काम भैरहेको पनि उनकाे दावी छ ।
गत असारको १७ गते आएको वाढीले क्षतिग्रस्त पालुङटार नगरपालिका वडा न ९ को वाटो र खारखोला माथिको पुल वाढीले क्षति पुर्याउँदा धर्माैदय माध्यमिक विद्यालयर मदानेडाँडा माध्यमिक विद्यालयमा अध्ययनरत करिव ६ सय विद्यार्थी प्रत्यक्ष प्रभावित भएका थिए ।
मेयर आफै यसरी प्रत्यक्ष काममा खटिएर जनताको सेवामा लागेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।