काठमाडौं- प्रतिनिधि र प्रदेशसभाको आगामी निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ ।
मंसिर ४ गते तय भएको उक्त निर्वाचनका लागि निर्वाचन आयोगको आइतबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।
आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत आयोग स्रोतले जनाएको छ । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले उक्त काम गर्न भदौ २५ गते लेखी पठाइनेछ ।
प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।
यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । त्यसमध्ये केही कार्यक्रम आवश्यकता अनुसार परिवर्तन हुन सक्नेछन् ।
निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ ।
समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।