काठमाडौं- नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले बाबुराम भट्टराईका लागि गाेरखा क्षेत्र न २ छाेड्न नसक्ने बताएका छन् ।
नेता पाण्डेले भने, ‘बाबुरामजी जसपा हुँदाखेरि हामीसँग सहकार्यमै हुनुहुुन्थ्यो । अहिले छुट्टै पार्टी बनाउनुभएको छ । उहाँ गठबन्धनमा आउनुभयो र कुरा गर्नुभयो भने धेरै नाइँनास्ति गर्नुपर्ने कुरा छैन । उहाँको नेपाल समाजवादी पार्टी, लोसपा आए गठबन्धनमा सातवटा पार्टी होलान् । फराकिलो गठबन्धन बन्ला । अरु को को थपिन्छन्, कति सिट दाबी गर्छन् भन्दा पनि उसको संगठनात्मक स्थिति कस्तो छ ? त्यस आधारमा निर्क्यौल हुन्छ । तर यसपालि गोरखामा बाबुरामजीले सिट पाउने सम्भावना छैन ।”
गोरखामा बाबुरामको पार्टीको भोट नै नभएको उनको जिकिर छ । उनले भने, ‘कांग्रेसले कुनै दल गठबन्धनमा आउनासाथ यति सिट लिनुस् भन्ने होइन । गोरखामा दुइटा सिट छन् । त्यसमध्ये एउटा कांग्रेसले लिन्छ । कांग्रेसका साथीहरुले क्षेत्र नं २ लिनुपर्छ भनेका छन् । गत निर्वाचनमा कांग्रेसले बाबुरामलाई छाडेकाले यसपटक हामी लिन्छौं । एउटै व्यक्तिलाई पटकपटक सहयोग गर्न सकिँदैन । टिकट पाउनुमात्र ठूलो कुरा होइन । बाबुरामजीको पार्टीमा कति भोट छ र भोट सहज रुपमा ‘ट्रान्सफर’ हुन्छ कि हुँदैन भन्ने ख्याल गर्नुपर्छ ।’
तपाईंहरु अरु दलसँग गठबन्धन गर्न खोज्नुभएको छ, आन्तरिक रुपमा चाहिँ मिल्नु पर्दैन भन्ने प्रश्नमा उनी भन्छन्- ‘हो, कांग्रेसमा धेरै आकांक्षी छन् । कांग्रेसलाई १६५ सिटमै लडे त अप्ठ्यारो छ भने धेरै सिट अरु दललाई छाड्दा गाह्रो हुन्छ । भुइँको टिप्न खोज्दा पोल्टाको झर्छ कि भनेर चिन्ता छ । भित्रका साथीहरुलाई पेल्ने, बाहिर गठबन्धन गर्न जाने भन्ने हुँदैन । सभापतिजीले पहिला पनि म्यानेज गर्नुभयो । अहिले पनि हुन्छ ।’