काठमाडौं– सत्ता गठबन्धनकै एक हिस्सा बन्न खोजिरहेको जसपाबाट विभाजित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री तथा गठबन्धनका नेता शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन् ।
प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषय, गठबंधन, चुनावी तालमेल लगायतका विषयमा छलफल भइरहेको नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
बाबुराम भन्छन्- हाम्रो पनि हकदावी छ
अर्का अध्यक्ष यादवसहित बालुवाटार पुगेका भट्टराईले चुनावी गठबन्धनकै बारेमा छलफल गरेको नेसपाका नेता पाण्डेले बताए ।
‘मैले पनि सोचिरहेको थिएँ, गठबन्धनमा तपाईँहरुलाई पनि सहभागी गराएर जानुपर्छ भनेर ।’, प्रधानमन्त्री देउवाले भने, ‘म सकारात्मक छु । एकपटक म अन्य गठबन्धनका दलहरुसँग पनि सल्लाह गरेर खबर गर्छु ।’
जवाफमा भट्टराईले भने, ‘यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ । त्यसकारण यो गठबन्धनमा हाम्रो पनि हकदाबी लाग्छ ।’
उनीहरुबीचको कुराकानी सकारात्मक भएको र केही दिनपछि फेरि छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।