काठमाडौँ- गत स्थानीय चुनावमा सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ महानगरको प्रमुखका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएकी नेतृ सिर्जना सिंहले चुनावी तालमेलले अन्योल बढाउने टिप्पणी गरेकी छन्।
सत्तारुढ पाँचदलीय गठबन्धन सिट बाँडफाँटको तयारीमा रहेका बेला उनले चुनावी तालमेलको विरोध गरेकी हुन्।
नेतृ सिंहले बुधबार ट्विट गर्दै चुनावी तालमेलभन्दा पनि आसन्न संसदीय निर्वाचनमा सबै दल आआफ्ना चुनाव चिह्नबाट लड्नुपर्नेमा जोड दिएकी छन्।
उनले निर्वाचनपछि बहुमत नपुगे सरकार गठनका लागि गठबन्धन गर्न सकिने पनि उल्लेख गरेकी छन्।
‘राजनीतिक कुरा गर्न मन लाग्यो। आउँदै गरेको संसदीय चुनावमा आआफ्ना पार्टी आफ्नै चुनाव चिह्न र गठबन्धन नगरी सबैले आआफ्ना उम्मेदवार उठाउने बरु बहुमत नआए गठबन्धन गर्दा हुन्छ’, सिंहले लेखेकी छन्, ‘स्थानीय चुनावमा देखेको/भोगेको गठबन्धनले अन्योल र अस्तव्यस्तबाहेक केही गर्दैन।’
राजनितीक कुरा गर्न मन लाग्यो ..आउदा गरेको संसदीय चूनावमा आफ्आफ्नो पार्टि आफ्नै चूनाव चिन्ह र गठबन्धन नगरी सबैले आफ्आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठवन्धन गर्दा हुन्छ।स्थानिय चूनावमा देखेको भोगेको गठवन्धनले अन्यौल र अस्तव्यस्त बाहेक केहि गर्दैन #सुझाव #नेपालीकांग्रेस
— Sirjana Singh (@Sirjana_Singh) August 10, 2022