काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेको छ। यस विषयमा पक्ष र विपक्षमा मत जाहेर गर्ने क्रम चलिरहेको छ।
यसै क्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकता विधेयक पारित हुनु सकारात्मक कुरा भएको बताएका छन्।
तर उक्त विधेयकमा पनि विभेदकारी व्यवस्था रहेकाले सच्याउन आवश्यक भएको उनले बताएका छन्।
‘लाखौं नेपाली नागरिकताविहीन भइरहेको अवस्थामा नागरिकता विधेयक पारित हुनु सकारात्मक छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘परन्तु आमाको नाउँबाट नागरिकता लिँदा बाबुको ठेगान नलागेको स्वघोषणाजस्ता अपमानजनक/विभेदकारी प्रावधान, छोरी र छोराका दम्पतीलाई अंगीकृत नागरिकतामा विभेद, गोरखा सैनिकलाई नागरिकता आदि कमी सच्याउनैपर्छ।’
लाखौं नेपाली नागरिकताविहीन भैरहेको अवस्थामा नागरिकता विधेयक पारित हुनु सकारात्मक छ। परन्तु आमाको नाउॅबाट नागरिकता लिंदा बाबुको ठेगान नलागेको स्वघोषणा जस्ता अपमानजनक/विभेदकारी प्राबधान,छोरी र छोराका दम्पत्तिलाई अंगीकृत नागरिकतामा विभेद,गोरखा सैनिकलाई नागरिकता आदि कमी सच्याउनैपर्छ।
— Baburam Bhattarai (@brb1954) August 18, 2022