काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पूर्वसहयोद्धा डा बाबुराम भट्टराईलाई अनुशासनहीन र अराजक तत्वको संज्ञा दिएका छन्।
पार्टीको काठमाडौंमा जारी राजनीतिक समितिको बैठकमा प्रस्ताव पेस गर्दै भट्टराईकै कारण पार्टी गतिविधि ठप्प भएको समेत आरोप लगाएका छन्।
‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडीदेखि पार्टीभित्र डा बाबुराम र उहाँ निकटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भिर समस्या उत्पन्न गर्यो। कतिपय प्रदेश तथा जिल्लाहरूमा पार्टी जीवन नै ठप्प हुन पुग्यो,’ यादवले उल्लेख गरेका छन्, ‘पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका अनुशासनहीन र अराजक तत्वलाई कारबाही गरेर पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडी बढाउने काम सुरु भएको छ।’
पार्टीको विधि, पद्धतिअनुरूप पार्टीभित्र वैचारिक बहस नगरेर सामाजिक सञ्जालहरूमा बहस गर्न थालेको पनि उनले बताएका छन्। जसले समस्या सिर्जना गरेको यादवको दाबी छ। प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको विधि, पद्धतिअनुरूप पार्टीभित्र वैचारिक बहस गरेको भए राम्रो हुन्थ्यो। तर, पार्टीभित्र भन्दा सामाजिक सञ्जालहरूमा बहस गर्ने अराजकता र अनुशासनहीनता देखापर्यो। फलस्वरूप पार्टीभित्र समस्या सिर्जना भए।’
पार्टी एकीकरणसँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकताबद्ध भएका केही नेता कार्यकर्ताहरुले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको यादवले बताएका छन्।
हेर्नुहोस् अध्यक्ष उपेन्द्र यादवको राजनीतिक प्रस्ताव