काठमाडौं- नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङसँगै ७ जनाको दाबी थियो । तर, अध्यक्ष प्रचण्डले अरु दावेदारहरुलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् ।
महासचिवमा दावी गर्दै आएका गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।
प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् ।
उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।
यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि भनिएको छ । विचारको विकास र संठगनात्मक प्रणाली निर्माणका लागि विशेष महाधिवेशन गर्ने भनिएको छ, तर मिति भने तय भएको छैन ।