काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा पटक-पटक गरिरहेका छन्।
शुक्रवार मात्रै सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले चितवन–३ बाटै निर्वाचन लड्ने दाबी गरेका छन्। प्रचण्ड अहिले सुर्खेतमै छन्।
तर, राजधानीमा भने प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डको उम्मेदवारी सिफारिस गोरखा–१ बाट भएको चर्चा व्याप्त छ।
तर, माओवादी केन्द्र जिसस गोरखाका संयोजक विष्णु प्रसाद भट्ट भने यो कुरामा कुनै सत्यता नभएको बताउँछन्। सामान्य छलफल मात्र भएको भए पनि अहिले अध्यक्षको नाम सिफारिस नभएको उनको दाबी छ।
‘कुनै निर्णय भएको छैन। पक्रिया नै सुरु भएको छैन,’ उनले भने, ‘छलफल चलिरहेको छ। चुनाव घोषणा भएपछि छलफल त चल्ने नै भयो।’
केही नेताहरूको चाहना भने अध्यक्षलाई नै गोरखा ल्याउन पाए हुने भन्ने रहेको उनी बताउँछन्। ‘पार्टीकै अध्यक्ष ल्याउन पाए हुन्थ्यो भन्ने पनि साथीहरूको चाहना देखिन्छ,’ सुरेन्द्रले भने।
भएको के हो?
गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन जिल्लाका केही नेताहरूबिच छलफल चल्यो।
स्थानीय निर्वाचनमा सबैभन्दा बढी पालिका जितेको, माओवादीहरूको अहिलेसम्म सबैभन्दा राम्रो अवस्था रहेको जिल्ला भएकैले प्रचण्डलाई गोरखा ल्याउनुपर्ने उनीहरूको चाहना छ।
त्यही कुरालाई कतिपय नेताले प्रचण्डको नाम सिफारिस गरेको सार्वजनिक पनि गरिदिए। तर, प्रचण्डको नाम सिफारिस गर्ने गोरखा जिल्ला समन्वय समितिको बैठक अहिलेसम्म बसेको छैन।
जिसस संयोजक भट्ट अध्यक्ष प्रचण्डको नाम सिफारिस गर्न नेताहरूले सामान्य चर्चा चलाएको बताए।
‘अध्यक्ष गोरखा ल्याउन सक्ने सम्भावना, गठबन्धनमा भएकोले उहाँलाई ल्याउन पाए हुन्थ्यो भन्ने केही साथीहरूको चाहना छ,’ उनी भन्छन्, ‘अध्यक्षलाई कम्फरटेबल चुनाव जित्न गोरखा पनि छ है भन्न खोजिएको हो, अहिलेसम्म उहाँकै नाम सिफारिस भइसकेको होइन।’
उनका अनुसार जिसस गोरखाको बैठक आइतबार (भदौ १९) गते बस्दैछ । सो बैठकले उम्मेदवारको नाम सिफारिस गरेर पठाउने उनले जानकारी दिए।
उता, माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले पनि अहिलेसम्म जिल्लाबाट कुनै नाम सिफारिस भएर नआएको बताए।
प्रचण्डलाई गोरखा ल्याउन हरिराज र खड्का सक्रिय
माओवादीका अध्यक्ष प्रचण्डलाई गोरखा–१ मा ल्याउन उनी निकटका दुई नेताहरू लागि परेका छन् । जिल्ला पार्टी भित्र राम्रोसँग खेल्न सक्ने केन्द्रीय सदस्य तथा सांसदद्वय हरिराज अधिकारी र चूडामणि खड्का प्रचण्डलाई गोरखा–१ मा ल्याउन कम्मर कसेर लागेका छन् ।
२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठलाई हराएका अधिकारी सांसद भएर संसद् भवन छिरे पनि देखिने गरी कुनै काम गर्न नसकेको भन्दै आलोचित बनेका छन् ।
त्यसै कारण पनि उनी गोरखा–१ मा प्रचण्ड ल्याएर प्रदेश तिर मुख्यमन्त्री लड्न पाउने भन्दै तयारी गर्दै आएका छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा गोरखाका नौ पालिका जितेको माओवादीले यही गठबन्धन कायम भएमा गण्डकी प्रदेशको मुख्यमन्त्री पाउने चर्चा चलेको छ ।
उता अपाङ कोटाबाट प्रचण्डको आडमा समानुपातिक सांसद भएका खड्का पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गोरखा–२ बाट प्रत्यक्ष चुनाव लड्न रोक्न रोजिरहेका छन् । उनैको जोड बलमा बिहीबार गोरखाका दुई निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचित क्षेत्रमा भन्दै उनी निकटका नेताहरूको नाम सार्वजनिक गरेका हुन् ।
माओवादी जिल्ला तहका नेताका अनुसार खड्काको योजनामा नै उनी निकटका केहीको नाम प्रत्यक्ष तर्फ र समानुपातिक तर्फबाट सिफारिस भएको भन्दै मिडियामा सार्वजनिक गरेका हुन् । जिल्ला तहका ती नेताका अनुसार आइतबार बस्ने जिल्ला समन्वय समितिको बैठकबाट मात्रै उम्मेदवारी सिफारिस गर्ने पार्टीको योजना रहेको दाबी छ ।
गोरखा–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसमेत आँकाक्षी हुन् । उनी फेरि गोरखा–२ मा आँकाक्षी भएपछि गोरखा माओवादी भित्र भद्रगोल भएको छ । यही छल्न सांसद खड्का र अधिकारीले आफू निकटको लिस्ट सार्वजनिक गरेको माओवादी भित्र चर्चा चल्न थालेको छ ।