गोरखा- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा गोरखा- २ बाटै उम्मेदवारी दिने बताएका छन् ।
शनिवार गुह जिल्लामा सञ्चारकर्मीसँग अध्यक्ष भट्टराईले आफू प्रत्यक्ष चुनाव लड्ने बताए ।
यसअघि माओवादीका केही नेताले भट्टराईले प्रत्यक्ष चुनाव नलडी समानुपातिकमा जान सक्ने बताएका थिए । तर भट्टराईले गोरखा २ बाटै चुनाव लड्ने बताएका हुन् ।
‘मैले यस पटक गोरखाबाट सबै प्रमुख राजनीतिक दलको साझा उमेद्वारको रूपमा अगाडी बढ्ने चाहाना राखेको छु, उनले भने, ‘नेपाली काग्रेस, माओवादी केन्द्रका साथीहरूको त अवश्य साथ रहन्छ, त्यो भन्दा बाहेकका अन्य दलका साथीहरूले पनि मलाई एक पटक गोरखाको सबै दलको प्रतिनिधित्व गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा छ ।’
उनले आफू एक पटक फेरी गोरखा क्षेत्र नम्बर २ बाट नै निर्वाचन लड्ने सोचमा रहेको समेत बताए ।
‘अहिलेसम्मको औपचारिक टुङ्गो त लागेको छैन तर गठबन्धनमा जसले जहाँबाट जितेको छ त्यहीँबाट चुनाव लड्ने भन्ने प्रारम्भिक बुझाई बनेको छ, उनले भनेका छन्, ‘त्यसले स्वतह: म गोरखाको २ नम्बर क्षेत्रबाट चुनाव लड्छु भन्ने छ ।’
भट्टराईले गोरखाको एउटा प्रदेश निर्वाचन क्षेत्रमा पनि आफ्नो पार्टीको दाबी रहने बताए ।
‘यसअघि गोरखा क्षेत्र नम्बर २ क जितेकाले एउटा प्रदेश क्षेत्रमा हाम्रो दाबी जायज हो, तर कुन प्रदेश भन्ने अहिले थाहा छैन,’ उनले भने ।
यद्यपि यसको औपचारिक टुङ्गो लाग्न भने बाँकी रहेको बताए ।