काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्न सडक संघर्ष गर्ने बताएका छन्।
आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै सडक संघर्षमा जाने उनले घोषणा गरे।
आइतबार (१९ भदौ) काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको गुनासो गरे।
‘अहिले त चुनाव आइ नै सक्यो। प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी,’ प्रचण्डले भने, ‘संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ। विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने जो चलिराखेको छ। हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु। सडकबाट मात्रै समाजवादको परिकल्पना जो संविधानमा गर्न खोजेको हो।’
मुलुकलाई रुपान्तरण गर्न आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना पार्टीभित्र तय गरिसकेको प्रचण्डले दाबी गरे।
एक वर्षभित्र मुलुकमा आफ्नो नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीतिक क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने उनको भनाई थियो।
त्यसका लागि कम्युनिस्ट पार्टीहरूबीच एकता गरिने प्रचण्डले बताए।
‘कम्युनिस्टहरूलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने,’ प्रचण्डले भने, ‘संविधानले समाजवादको यात्रातर्फ जाने परिकल्पना मात्रै गरेको छ। साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित उत्पादन वृद्धि, श्रम र सांस्कृतिक रुपान्तरण स्थानीय तहदेखि नै एउटा नयाँ आन्दोलन सिर्जना गर्ने उद्देश्य मेरो दिमागमा थियो।’
‘मैले निरन्तरतामा क्रमभंगता गर्नकै लागि एमालेसँग एकता गर्न केपी ओलीसँग सहमति गरेकै हो, तर, त्यो सफल भएन। सफल हुन दिइएन। धेरै कारणहरू छन्,’ प्रचण्डले थपे, ‘मेसिन बेठिक राख्ने र त्यसबाट उत्पादित वस्तु राम्रो खोज्ने हो भने त्यो हुन सक्दैन। समस्या मेसिनमा छ। अहिलेको निर्वाचन प्रणालीलाई कायमै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त विकृतिमुक्त समाज निर्माण गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन। निर्वाचन प्रणाली बदल्नै पर्छ।’
अहिलेको निर्वाचन प्रणालीले पार्टीका नेताहरूलाई पनि भ्रष्टिकरणको बाटोमा लगेको र चुनाव जित्न पैसा चाहिने बनाएको उनको थियो।
मुलुकलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुनुपर्ने प्रचण्डले बताए।
‘अब एकचोटी फेरि निर्वाचन मेसिनरी र शासन मेसिनरी बदल्नका निम्ति जनतामा जानुको विकल्प छैन,’ प्रचण्डले थपे।
‘तपाईँहरूले देख्नुभयो– अस्ति चोलेन्द्र शमशेर राणाले संसदीय सुनुवाइ समितिमा गएर बयान दिँदा भन्नुभयो– म घेराबन्दीमा परेँ। सडकको घेराबन्दीमा परेँ भन्नु भएको छै। त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो’उनले भने।