गोरखा- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखा–२ बाट उम्मेदवार हुने दाबी गरेका छन्।
२४ औँ वासु स्मृति सभा कार्यक्रमलाई बिहीबार पालुङटारमा सम्बोधन गर्दै उनले यस पटक गोरखामा अन्य दललाई टिकट दिने सम्भावना नभएको बताए।
‘गोरखाको दुई वटै क्षेत्र माओवादीले पाउने छ,’ उनले भने, ‘यहाँबाट मेरो पनि नाम सिफारिस गरेर पठाउनुभएको छ, पार्टीको निर्णय स्वीकार गर्छु।’
उनले यहाँ अरू दलको कोही उम्मेदवार नहुने पनि बताए। ‘पार्टीको निर्णयलाई हामीले सफल पार्नुपर्छ, विजय गराउनुपर्छ, यहाँ हाम्रो पार्टीकै उमेद्वारा हुन्छ यसमा कुनै द्विविधा नलिनुहोला।’
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गोरखा–२ बाटै उम्मेदवारी दिने बताएका छन्।
तर, अध्यक्ष प्रचण्डसँगको छलफलमा भट्टराईले गोरखा नमागेको बरु काठमाडौं, नवलपरासी र सर्लाही मागेको श्रेष्ठले बताए।
‘सर्लाही, नवलपरासी र काठमाडौं समेत ३ वटा क्षेत्र मात्रै उहाँले माग्नुभएको हो,’ श्रेष्ठले थपे, ‘काठमाडौंमा मानुषी यमीसहित नवलपरासी र सर्लाहीमा पनि उम्मेदवार चाहिन्छ भन्नुभएको थियो।’