काठमाडौं- कमेडियन अपूर्व क्षितिज सिंहले भन्नलाई धेरै कुराहरू भएको बताएका छन्।
हिरासतबाट छुटेर आइतबार उनले फेसबुकमा स्ट्याटस लेख्दै आफूसँग भन्न बाँकी धेरै कुराहरू भएको बताएका हुन्।
उनले आफ्नो स्वास्थ्य अवस्था पनि सुधार भएको बताए।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सरकारी वकिल कार्यालय काठमाडौंको रायअनुसार गत बिहीबार तारेखमा छाडिएको थियो।
‘मसँग जे पनि भएको छ त्यसबारेमा भन्न बाँकी धेरै कुरा छन्। तपाईहरूले देख्नुभएको १० प्रतिशत मात्रै
हो। तर यो बोल्नको लागि ठीक समय होइन,’ उनले भने, ‘म एक दिन बोल्नेछु।’
उनले आफूमाथि लगाइएका मुद्दाको किनारा लाग्न पनि बाँकी भएको बताए।
उनले आफूलाई समर्थकहरूलाई धन्यवाद समेत दिएका छन्।
यस्तै उनले आफूलाई भेट्दा सामान्य रूपमा प्रस्तुत भइदिन पनि अनुरोध गरेका छन्।
कमेडियन अपूर्वले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा प्रहरी परिसरमा उनीविरूद्ध जाहेरी परेको थियो।
उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो। उनी १२ दिन हिरासत बसेर छुटेका हुन्।