काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपन क्षेत्रमा देखिएको ढलको समस्या समाधान गर्न अलग्गै आयोजनाको माग गरेका छन् ।
ढलको समस्याबारे उपत्यका विकास प्राधिकरणमा आइतबार भएको छलफलमा महामन्त्री थापाले ढलका कारण कपनमा ठूलो जनधनको क्षति हुँदै आएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले सो समस्या समाधानका लागि समेत आफू सिरियस रहेको बताए । कपन थापाको चुनाव क्षेत्रसमेत हो । ‘यो क्षत्रमा ढल आउनेबित्तिकै सबैभन्दा बढी गाली खाने मान्छे म हुँ ।
कपनमा खहरे बग्नेबित्तिकै सबैभन्दा बढी मलाई गाली गर्नुहुन्छ,’ उनले भने, ‘म यो समस्यामा सिरियस छु ।
तर यो समाधान गर्न अफ्ठ्यारो अवस्था छ । त्यसका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गरोस् ।’
आइतबार काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी विकासमन्त्री मेटमणि चौधरीसहित सरोकारवालासँग गरेको छलफलमा नेता थापाले स्थानीय, प्रदेश र संघीय सरकारले एउटै मोडेलमा काम गर्नुपर्ने बताए ।
उनले करिडोर बनाउने क्रममा खोलाको बहावलाई नियन्त्रण गर्ने गरीमात्रै नभई बनाएका घरहरुको समेत संरक्षण कसरी गर्ने भनेर सोच्नुपर्ने उनले बताए ।
‘बाहिरबाट आएका मानिसहरुले २ आना, ५ आनामा घर बनाउनुभएको छ । लालपूर्जा छ, वर्षैपिच्छे कर तिर्नुभएको छ ।
उहाँहरु वैधानिकरुपमा बस्नुभएको छ,’ उनले भने, ‘समस्या सिर्जना त्यसैगरी भएको छ, यो समस्या सिर्जना गर्नेमा मेरो भूमिका छैन । तर म यो भनेर समस्याबाट भाग्ने कुरा पनि छैन । अहिलेसम्म जे जे भयो, मेरो कुनै टिप्पणी छैन । तर अब कसरी समाधान गर्ने भन्नेमा सबैले ध्यान पुर्याउनुपर्नेछ ।’
कार्यक्रममा सहरी विकासमन्त्री चौधारीले कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि छुट्टै आयोजना बनाएर काम गर्ने बताए ।
सांसद थापाको पहललाई सहरी विकास मन्त्रालयले सतप्रतिशत सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकमा छुट्टै आयोजना बनाएर करिडोर बनाउने प्रस्ताव पास हुन्छ ।
करिडोरलाई विवादित बनाउनेभन्दा पनि समस्या समाधान गर्ने कुरा गरौं । जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न ।’