काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर संघर्षमा रहेको कारण प्रतिक्रियावादीहरूले प्रचण्डलाई सिध्याउनुपर्छ भन्ने अभिव्यक्ति दिइरहेको टिप्पणी गरेका छन् ।
२४औँ बासु (सुरेश वाग्ले) स्मृति दिवसको अवसरमा बिहीवार पर्यटन बोर्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संघर्षबाट नभाग्ने र अन्तिमसम्म डटिरहने बताएका हुन् ।
निरन्तर संघर्ष गर्ने प्रतिबद्धता नै सुरेश वाग्लेप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै प्रचण्डले अहिले आफू भिन्नरूपमा संघर्षमा रहेको बताएका हुन् ।
उनले भने, ‘म भिन्नरूपमा संघर्षमै छु । यो वर्ग युद्ध हो, वर्ग लडाइँ हो । जारी छ । संघर्षबाट रोकियो कि हामी सिद्धिन्छौँ । अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइसकेको छैन ।’
सुरेश वाग्ले संघर्षबाट नभाग्ने र सरदरभन्दा फरक विशेषता र चरित्रको भएको प्रचण्डले बताए । आफू संघर्षमा रहेकै कारण अर्को कित्ताबाट प्रहार भइरहेको उनको दाबी छ ।
‘मेलै मेरो ठाउँबाट संघर्ष गरिरहेकै छु भन्ने लाग्छ । मैले संघर्ष गरिरहेकै कारण अवसरवादी, प्रतिक्रियावादीहरूबाट माओवादी र प्रचण्डमाथि प्रहार भइरहेको छ । हिजो जनयुद्धको बेलामा पनि प्रहार भएकै थियो यो अपराधीहरूको हो भनेर । टाउकै काट्ने कुरा थियो’, प्रचण्डले भने, ‘अहिले पनि माओवादी अस्थिरताको कारक हो, प्रचण्ड रहँदासम्म यो देश अप्ठ्यारोमा परिराख्छ त्यसकारण प्रचण्ड सिध्याउन पर्छ भनिएकै छ ।’
माओवादीहरू संघर्ष छाड्दा सिद्धिने अवस्था आउने उनले बताए । आफूले संघर्ष नछाडेकै कारण अर्को कित्ताबाट प्रहार भइरहेको उनले बताए ।
‘मैले संघर्ष छाडेको भए प्रतिक्रियावादी र अवसरवादीहरूले त्यसो भन्नपर्ने आवश्यकता हुँदैनथ्यो । त्यसकारण अर्को कित्ताबाट प्रहार भएकै छ । म अन्तिम समयसम्म संघर्षमा रहनेछु’, उनले भने ।