काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन्।
पोखरामा शुक्रबार बिहान आयोजित पत्रकार भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताउँदै चितवनबाट दायाँबायाँ नगर्ने बताएका हुन्।
‘मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरूले पनि आइदिनुपर्यो भन्नुभएको छ,’ पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘काँग्रेसका नेताले गोरखा आइदिनुपर्यो भन्नुभयो। तर म अहिले चितवनबाटै लड्छु। मेरो दिमागमा दायाँबायाँ अर्को छैन। चितवनका जनता, चेतना र भावनाप्रति विश्वास छ। गठबन्धन पनि छ। जित सुनिश्चित छ।’
उनले चितवनभन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने पनि बताए। ‘चितवन छाड्दा सन्देश राम्रो हुँदैन। त्यहाँ चुनाव लड्दा कहीँ न कहीँ नकारात्मक सन्देश जान्छ। चितवनमा जित्छु भन्नेमा पूर्ण विश्वासमा छु। हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ। प्रचण्ड देशभरिका जनताको हो भन्ने सन्देश दिनु थियो,’ उनले भने, ‘अहिले चितवन छाडेर हिँड्दा डराएर हिँडेको भन्ने हुन्छ। मैले त्यहाँ जित्छु पनि।’
उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको उल्लेख गर्दै सहमति र समझदारीको निकट पुगिसकेको दाबी गरे। उनले भने, ‘नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंगोमा पुगिसक्ने थियो। आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टुंगोमा पुग्नेछौं।’
प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयकलाई राजनीतिक विषय बनाउने मुडमा देखिएको जिकिर गरे। राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच गत १५ भदौमा भेटघाट भएको थियो।
‘हुन त केही दिनअगाडि राष्ट्रपतिलाई भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा भएको देखेको थिएँ। नगर्ने सम्भावना (प्रमाणीकरण) पनि छ,’ उनले भने, ‘मैले दोस्रो पटक पनि प्रमाणीकरण भएन भने राजीनामा दिनुपर्ने स्थिति आउँछ या अदालतमा जान्छ भनेको थिएँ। यी दुई वटामा एउटा हुनसक्छ। अनुमानको कुरा हो।’