काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
उनी २०७४ मा पनि यहींबाट चुनिएका थिए । तर पाँच वर्षमा धेरै कुरा फेरिएको छ । हिजो प्रचण्डलाई चुनाव जिताउन भूमिका खेलेको नेकपा एमाले, आज उनीसँग छैन ।
हिजो प्रचण्डलाई भोट माग्ने यमबहादुर परियार, अञ्जनकुमार तिमिल्सिनाहरू पनि माओवादी केन्द्र छाडेर एमालेतिर लागेका छन् ।
हिजो प्रचण्डका प्रतिस्पर्धीलाई सघाएको नेपाली कांग्रेस भने आज प्रचण्डसँग छ । यद्यपि उनलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा चितवन कांग्रेस विभाजित छ, तर मूल नेतृत्वले प्रचण्डलाई समर्थन छ ।
राप्रपा उपाध्यक्ष पाण्डे पनि माओवादी अध्यक्ष प्र्रचण्डसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर उनले एमालेको साथ पाउँछन् कि पाउँदैनन् भन्ने प्रष्ट भइसकेको छैन ।
फेरि होला त एमाले–राप्रपा तालमेल ? स्थानीय निर्वाचनमा एमाले र राप्रपाबीच जिल्लाका ७ मध्ये २ पालिकामा तालमेल भएको थियो ।
तालमेल भएको भरतपुर महानगरपालिका र माडी नगरपालिका दुवै चितवन–३ मै पर्छन् । भरतपुरमा तालमेलले ठूलो प्रभाव परेन, मेयर–उपमेयर दुवै सत्तारुढ गठबन्धनले जित्यो, तर माडीको मेयर एमालेले जित्यो ।
४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले र राप्रपाबीच तालमेलको प्रयास भइरहेको छ ।
राप्रपा उपाध्यक्ष पाण्डेले एमालेका जिल्लादेखि केन्द्रसम्मका नेतासँग छलफल भइरहेको जानकारी अनलाइनखबरलाई दिए ।
यो पटक मलाई समर्थन गरेर जाने भन्ने छलफल भइरहेको छ’ उनले भने, ‘म साझा उम्मेदवार हुने सम्भावना बढी छ ।’
तर चितवन–३ मा उम्मेदवार सिफारिस भएका एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भने राप्रपाले आफूहरूलाई समर्थन गरे सहकार्य हुने बताउँछन् ।
‘चितवन–३ मा यसै पनि राप्रपाभन्दा एमाले ठूलो दल भएकाले उसले सहयोग गर्दा नतिजा आउँछ’ उनी भन्छन्, ‘अन्यथा तालमेल गर्ने कुरै आउँदैन ।’
चितवन–३ को गणित: २०७४ मा कांग्रेसको सहयोगमा चुनाव लडेका पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ९ हजार ३४१ मतले हराएका थिए ।
एमालेको समर्थन पाएका प्रचण्डले ४८ हजार २७६ र पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए ।
३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत हेर्दा यो क्षेत्रमा एमाले र कांग्रेस हाराहारीका शक्ति हुन् भने माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो दल हो ।
तर एमालेले समर्थन गरे कांग्रेसको विद्रोही पक्षको समेत साथ लिएर चुनाव लड्ने पाण्डेको तयारी छ ।
विवादित छवि: पाण्डेले लामो समयदेखि राजनीति गरेको क्षेत्र हो, चितवन । उनी २०७० सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नं. ५ बाट विजयी समेत भएका थिए ।
चितवनको निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा उनको क्षेत्र ३ मा परेको छ ।
यो क्षेत्रमा पाण्डेको सांगठनिक भन्दा पपुलर मत रहेको मानिन्छ । २०७४ मा छोटो समय वन तथा भूसंरक्षण मन्त्री भएका पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक समेत हुन् ।
उनी बेलाबेला विवादमा मुछिन्छन् । बाँकेको सिक्टा सिंचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध २ अर्ब १३ करोडको भ्रष्टाचार मुद्दा हालेको थियो ।
थुनछेक बहसका क्रममा ४ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका उनले गत असारमा विशेष अदालतबाट सफाइ पाएका छन् ।