काठमाडौं- नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाउन कार्यदल बनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको हो।
महासचिव गुरुङको नेतृत्वमा बनेको कार्यदलमा उपमहासचिव शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको छन्। गुरुङ नेतृत्वको कार्यदलले सर्ट लिष्टमा नाम उतारेर सोमबारको पदाधिकारी बैठकमा पेश गर्ने पार्टी सचिव गणेश साहले जानकारी दिए।
माओवादीले सोमबार बिहान ९ बजे पदाधिकारी बैठक राखेको छ।
कार्यदलले संघ र प्रदेशका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको सूची तयार पार्नेछ। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन भोलिसम्मको समय दिएको छ।